यस्तो छ प्रमोद अधिकारीको ‘मार्कसिट’

मार्कसिट
किन लाग्दैन
नानीहरुको अनुहार
फक्रदै गरेको गुलाबको फूललजस्तो ।
किन लाग्दैन
छोरीको अाँखा
सङ्लो आकाशको स्नीग्ध जुनजस्तो ।
किन देखिन्छ
सधैं त्यो मार्कसिट
छोरीभन्दा पनि उज्यालो ।
छोरीले बनाएको आकाशमा
किन लाग्दैन बादल ?
छोरीले कोरेको पहाडमा
किन उम्रदैन विरुवा ?
मलाई पनि किन यस्तै लाग्दैछ अचेल
छोरीभन्दा त्यो मार्कसिट प्यारो
छोरीभन्दा त्यो मार्कसिट हेरेर मख्ख ।
जुन दिन छोरीको हातमा
त्यो मार्कसिटको कागज थमाइन्छ
मनौं त्यो दिन
उसको जन्मदिनभन्दा पनि विशेष हो ।
उसका खुसिका सीमाहरु
मर्कसिटका ग्रेडिङ लेटरहरुभन्दा
अझ माथि माथि ए प्लस प्लस देखिन्छन् ।
त्यो मार्कसिट हात परेको दिन
एउटा उत्सव आयोजना हुन्छ ।
भोलिपल्ट बिहानै
जब रेडियोले
आकस्मिक नेपाल बन्दको खबर
छोरीको इनबक्समा हालिदिन्छ
हिजोको उत्वसभन्दा
आज महोत्सव बन्छ नानीहरुको माहोल
खुसिहरु हिमाल चढ्न थाल्छन् नानीहरुका ।
मार्कसिटका ए प्लसभन्दा
हजार गुणा माथि छन्
आज छोरीको खुसिका सीमाहरु ।
स्कूल जान नपरेकोमा
इतिबिघ्न रमाएको देख्दा
मलाई छोरीभन्दा मार्कसिटको चिन्ता किन लाग्छ
मार्कसिटमा खोज्छन कि
नानीहरुको अनुहारमा खोज्छन्
अभिभावकहरुले उज्यालो अचेल !