पर्सा प्रहरीद्धारा ठगी गर्ने गिरोह पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गिरोहले भाइबर, फेसबुक, ट्वीटर र मोबाइलबाट लाखौंको लट्री जित्नु भएको सन्देश पठाउने गरेको थियो । अब तपाईँले कम्पनीको तर्फबाट पुरस्कार पाउनु हुनेछ भन्ने सन्देश गिरोहले पठाउने र पुरस्कार बापतको कर अग्रिम भूक्तानी गर्नुपर्ने सर्त राख्ने गर्दछन ।
पुस्कार पाउने लोभमा कर बापतको रकम गिरोहले भने अनुसार आइएमइ गरेर पठाउदै आएकाहरु मध्येकैले यस्तो सूचना प्रहरीलाई दिएपछि प्रहरीले यस्तो गिरोहलाई पक्राउ गरेको हो ।
प्रहरीले मंगलबार बिहान वीरगंजको वडा नम्बर ७ पालगल्लीमा रहेको ‘माँ दुर्गा मनी ट्रान्सफर’ बाट एक जना र अन्य दुई जनालाई नारायणी गेष्टहाउसबाट पक्रेको पर्साका डिएसपी राजन लिम्बूले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा भारत विहारको कटिहार जिल्लाको कुजीवाना पञ्चायत जाजा थाना कदवा वडा नम्बर १३ घर भई हाल दिल्लीमा बस्दै आएका साकिर रेजा, त्यसै ठाउँका मुकेशकुमार राय र बारा जिल्ला बरियारपूर नगरपालिका वडा नम्बर १ घर भई हाल वीरगंजमा बसेर रिक्सा चलाउदै आएका फिरोज राय रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २ लाख ४० हजार नेपाली र ५ हजार ४ सय भारतीय रुपैयाँ, फिरोजको नागरिकता, उनको मतदाता परिचयपत्रको ९०÷९० थान फोटोकपी विभिन्न वित्तीय संस्थाका सक्कल भौचरहरु, भारतीय बैंकका एटिएम कार्डहरु, एप्पल र सामसुङसहित अन्य कम्पनीका ७ थान मोबाइलसमेत बरामद गरेको छ ।
यसअघि मंसिर १४मा पर्सा प्रहरीले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई लुटेको आरोपमा एउटा गिरोहलाई नै पक्रेको थियो ।
वीरगंजको वडा नम्बर १५ बसपार्कमा रहेको आइएमई रेमिट अगाडिबाट ६ जनालाई प्रहरीले पक्रेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय र अन्य पाँच जना नेपाली रहेका थिए ।
प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा बिना कारण ठूलो रकमको दिने कुरा सत्य नहुने भएकोले प्रलोभनमा पर्न नहुनेमा सचेत हुन आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमई वा बैंक वा अन्य कुनै वित्तीय संस्थामार्फत रकम उपलब्ध नगराउन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोधसमेत गरेको छ ।