दुई वर्ष घरमा पालेको हरिण निकुञ्जलाई जिम्मा

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका थापा परिवारले दुई वर्ष घरमा माया गरेर पालेको हरिण निकुञ्जको जिम्मा लगाएका छन्। घर नजिकको जंगलबाट सानो पाठी हरिण ल्याएका चोक बहादुर थापाले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेर घरमै बोलाएर हरिण पठाइदिएका जनहित उपभोक्ता समितिका कार्यालय प्रमुख राम अधिकारीले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।
घरमा बाख्रा पाठासँगै हुर्किएको हरिण निकुञ्जको गाडीमा चढाउँदा फुत्किँदै घरमै पुग्दा थापा पत्नीको आँखा रसाएका थिए। राम्रो लागेर सानैदेखि पालेको हरिण ठूलो हुँदै गएपछि पाल्न गाह्रो भएर निकुञ्जलाई बुझाएको थापाले जानकारी दिनुभयो । जंगली जनावरको सिकार गर्ने प्रवृत्ति मौलाएको वेला थापा परिवारले निकुञ्जलाई बुझाएर उदाहरणीय काम गरेको स्थानीय विष्णु भण्डारीले बताउनुभयो ।