प्रदेश नं. २ को राजधानी जनकपुर कि वीरगंज ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएलगतै अहिले देशको नयाँ संघीय संरचना अनुसार छुट्टयाईएका प्रदेशमा राजधानी र नामाकरणको विषयमा बहस चुलिएको छ । यसै क्रममा ८ वटा जिल्ला रहेको प्रदेश नं. २ को राजधानी र नामांकन के हुने हो भन्नेमा सबैको चासो छ । आफूलाई पायक पर्ने स्थान, विगतको योगदानको आधारमा राजधानी होस् भन्ने सबैको चाहना छ ।
चुनावअघि नै सरकारले दुई नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरलाई घोषणा समेत गरिसकेको छ । तर अब चुनाव सकिएपछि अन्यत्र पनि राजधानीको माग उठ्न थालेको हो । औद्योगिक शहर र सबैभन्दा ठूलो नाका रहेको आधारमा वीरगंजका राजनीतिक दल तथा स्थानीयबासिन्दा वीरगंज राजधानी बन्नुपर्ने अडानमा छन् ।
राजधानी वीरगंज नै बन्नुपर्ने मागसहित यहाँ एक हप्तादेखि आन्दोलन भैरहेको छ । जनकपुरमा भने अहिलेसम्म कुनै आन्दोलन सुरु भएको छैन । तर दुई नम्बर प्रदेशको राजधानी जनकपुर नै हुन्छ भन्ने धेरैको आशा छ ।
धेरै बुद्धिजीविले धार्मिक ऐतिहासिक पृष्ठभूमि एवं प्रसिद्धिको हिसाबले जनकपुृर नै उपयुक्त हुने बताएका छन् । कतिपयले सबै जिल्लालाई पायक पर्ने आधारमा राजधानीको लागि नयाँ ठाउँ छनौट गर्नु पर्ने तर्क गर्ने गरेका छन् । केही बुद्धिजीविले मधेसको मुद्दालाई कमजोर बनाउन विवाद सृजना गराउने षडयन्त्र गरेको भन्दै त्यसको पछि नलागेर अन्तरक्रिया, संवाद सहमतिको माध्यमबाट राजधानी तोक्नुपर्ने माग गरेका छन् । त्यसैकारण प्रदेश नं. २ को राजधानी र नामांकन विषयमा अन्यौल कायमै छन् ।
राजधानीको विषयमा के भन्छन् त बुद्धिजीविहरु ?
तुलानारायण साह
राजधानी र नामांकन विषयमा राजनीतिक विश्लेषक तुलानारायण साहको धारणा फरक छ । उहाँले राजधानी र नमांकनको विषयमा विवाद नै नहुनु पर्ने तर्क गर्दै यो विशुद्ध राजनीतिक विषय भएको बताउनुभयो । राजधानी र नामांकनको मुद्दालाई दलहरुले राजनीतिक सहमतिमै टुंग्यानुपर्ने राजनीतिक विश्लेषक साहको भनाई छ ।
डा. भोगेन्द्र झा
राजनीतिक विश्लेषक तथा प्रध्यापक डा.भोगेन्द्र झाले राजधानी र नामांकनको विषय सरकारले पहिले नै टुंग्याउनुपर्ने बताउनुभयो । अहिले विवाद निकालेर संघीयता असफल पार्ने षड्यन्त्र भइरहेको उहाँको टिप्पणी छ ।
धार्मिक तथा ऐतिहासिक नगरीको हिसाबले जनकपुर र ठूलो भन्सार नाका एवं औद्योगिक सहरको रुपमा रहेको वीरगंजको आआफ्नै महत्व रहेको डा.झाको भनाई छ । जनकपुरलाई राजधानी र बीरगंजलाई आर्थिक राजधानीको रुपमा बनाउँदा उत्तम हुने उहाँले सुझाव दिनुभयो ।
वीरेन्द्र साह
ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले राजधानी र नामांकनको विषयमा विवाद हुनु दुःखद भएको बताउनुभयो । विगतमा भएको राजधानी केन्द्रित विकासको कारणले सबैले आफूले पायक पर्ने ठाउँ र त्यसको विकास चाहेकाले आआफ्नो स्थानमा नै राजधानी बन्नुपर्ने माग गर्नु स्वभाविक भएको उहाँको तर्क छ ।
प्रदेश नं. २ का सबै जिल्लाको पायक पर्ने, नयाँ स्थान, राजमार्ग क्षेत्र, नयाँ बस्ती र पूर्वाधारको हिसाबले महोत्तरीको बर्दिबास भए उपयुक्त हुन सक्ने उहाँले भनाई छ । साहले जनकपुर नै राजमार्ग क्षेत्रमा भएको भए कुनै टिकाटिप्पणी हुँदैन्थ्यो भन्ने आफूलाई लागेको बताउनुभयो । नामांकनको विषयमा भने उहाँले यस प्रदेशमा मिथिला र भोजपुरा दुवै भाषाभाषी पर्ने हुनाले नामांकन दुवै भाषाभाषीको भावना अनुसार हुँदा राम्रो हुने उहाँको भनाई छ ।
डा. राजेन्द्र विमल
वरिष्ठ साहित्यकार तथा मैथिली संस्कृतिविद डा.राजेन्द्र विमल प्रदेश नं. २ को राजधानी सबै दृष्टिकोणले जनकपुर नै उपयुक्त हुने बताउनु हुन्छ । मिथिला सभ्यता धेरै पुरानो र विश्वमा प्रसिद्ध रहेकाले जनकपुरको धार्मिक, पौराणिक नगरीको हिसाबले आफ्नो बेग्लै पृष्ठभूमी र पहिचान भएकाले जनकपुरलाई नै राजधानी राख्दा उत्तम हुने उहाँको तर्क छ ।
सबैले पायक पर्ने ठाउँ हनुपर्छ भन्ने विषयमा उहाँले भन्नुभयो , ‘अहिलेको युगमा मुम्बई, दिल्ली साधन श्रोतको हिसाबले नजिक भइसेको छ । एकछिनमै पुग्न सक्छन् भने बीरगंज र सप्तरीबासीका लागि जनकपुर कति टाढा पर्छ ?’ त्यसैले यसमा धेरै बहस नगरी आफ्नो पहिचान बचाउन पनि पौराणिक सभ्यता र ऐतिहासिकताको हिसाबले जनकपुरलाई राजधानी र मिथिला नाम राख्दा उपयुक्त हुने उहाँको तर्क छ ।
चन्द्रकिशोर झा
राजधानी र नामांकनको विषयमा वरिष्ठ पत्रकार तथा स्तम्भ लेखक चन्द्रकिशोरको विचार फरक छ । उहाँले आठवटै जिल्ला एक आपसमा अन्तरक्रिया, सम्वाद, सहमति र मेलमिलापको माध्यमबाट प्रदेशको राजधानी र नाम टुंगो लगाउँदा उत्तम हुने बताउनुभयो ।
आआफ्नै ठाउँमा आन्दोलन गरेर, समाजिक सञ्जालमा लेखेर, टिकाटिप्पणी गरेर विवाद गर्नु भन्दा एकअर्काको भावना बुझेर सहकार्य र सहमतिमा राजधानी र नामांकन टुंग्याउन उत्तम हुने उहाँको सुझाव छ ।