चिसोले कठ्यांग्रिएर बारा र पर्सामा ६ को मृत्यु
ए वान डेस्क /
निरन्तर बढ्दै गएको चिसो र शीतलहरका कारण बारामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको सिमरौनगढ नगरपालिका ९ बसवरीया टोलका ६५ वर्षीय वृद्ध नन्दलाल यादव रहेको बारा प्रहरीले जनाएको छ ।
यस्तै गत सोमबार सिम्रौनगढ नगरपालिकाकै वडा नम्बर ८ कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि चिसोले नै कठयांग्रिएर मृत्यु भएको थियो ।
पर्सामा पनि मृत्यु
अत्याधिक चिसोका कारण पर्सामा चार जनाको मृत्यु भएको छ । बुधबार पर्साको जीराभवानी गाउँपालिकामा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी पकडीया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्र्षीय शम्भुमहरा चमरा रहेका छन्। मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।
त्यस्तै चिसोले कठ्यांग्रिएर त्यही वडाका ३५ वर्षीय चमारको पनि मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो । बुधबार बिहान काम गर्दै गर्दा चिसोले कठयांग्रिएर अचानक ढलेपछि चमारको मुखबाट रगत निस्किएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मन्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।























