‘मेयर साब’ को १०० दिन : काम थोरै, गुनासो धेरै

ए वान डेस्क /
डा. कृष्ण पौडेल जीतपुरसिमरा उप–महानगरपालिकाको मेयर भएको आज सय दिन पुग्यो । असोज १० गते उनले मेयर पदको सपथ खाएका थिए । १०० दिन पुगिसक्दा समेत उनीबाट नतिजा देखिने गरी खासै केही काम हुन नसकेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।
उनले देखिने गरी सय दिनमा काम गर्ने यसअघि प्रतिवद्धता जनाएका थिए । चुनाव प्रचारका क्रममा पनि उनले जनताको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए । मेयर चुनिनुअघि उप–महानगरपालिकामा जस्तो धुलो, धुवा, खाल्डाखुल्डी थिए पौडेल मेयरमा चुनिएपछि पनि अवस्था उस्तै रहेको नगरवासीको भनाई छ ।
‘जनप्रतिनिधि आए/नआएको केही फरक अनुभूति भएको छैन्’ डुमरवानाका सुमन थापाले भने, ‘जनप्रतिनिधि आएपछि सुधार होला भन्ने आशा थियो । सब आशा निराशामा फेरिए ।’ सय दिनमा काम गर्ने प्रतिवद्धता जनाएका पौडेलको घोषणा भोट माग्ने बाहाना मात्रै भएको उनले आरोप लगाए ।
तर मेयर निकट एक जना वडा अध्यक्षले रातरात कसैले पनि परिवर्तन गर्न नसक्ने बताउदै सय दिनमा धेरै काम भएको बताए । तर उनले के–के काम भएको हो भन्ने बारे केही खुलाउन चाहेनन् ।
उनका प्रतिबद्धतामध्ये मेघासिटि बनाउने पनि एक हो । उनले अहिले समग्र उप–महानगरलाई समृद्ध मेघासिटिका बनाउने तयारी थालेका छन् । जसको लागी उनले आन्तरीक गृहकार्यपनि तिब्र रुपमा गरिरहेका छन् । जीतपुरसिमरामा ठुलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई पनि सहजरुपमा टुंगो लगाउने तयारी गरेका छन् ।
१०० दिनमा भनेको जस्तो काम त गर्न सकिदैन तरपनि मेयर पौडेलले भने जनतामाझ जनाएका प्रतिवद्धता पुरा गर्न गंभिर हुनुपर्ने देखिन्छ ।