जीतपुरसिमरामा यसरी बाडिदैछ दाउरा

ए वान डेस्क
२२ पुष २०७४, शनिबार १७:५९

शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि जीतपुरसिमरा उपमहानगरले वडा कार्यलयमा दाउरा वितरण गर्ने कामलाई तिब्र पारेको छ । नगरबासीलाई चिसोबाट बच्नका निम्ति सार्वजनिक स्थानमा धुनी बाल्नका लागि उपमहानगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तिब्र पारेको हो ।

जिल्ला बन कार्यलय र निजगढस्थित बकैया नागमणी सामुदायिक बन उपभोक्ता समितिसंग समवन्य गरी उपमहानगरको कार्यलयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए । अहिलेसम्म वडा नम्बर ७, १०, १९, २० नम्बर वडाका वडाअध्यक्षले उपमहानगरबाट दाउरा लगिसकेको र अन्य वडामा पनि दाउरा पठाउने क्रम जारी रहेको नगर प्रमुख डा. पौडेलले बताए ।

उपमहानगरको वातावरण तथा बिपद ब्यवस्थापन समितिको बैठक बसेर बढ्दो शितलहरबाट जोगिनका निम्ति न्यानो वितरण र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । समितिको निर्णयअनुसार दाउरा संकलन गरी उपमहानगरका वडामा वितरण गर्ने क्रमलाई तिब्र पारिएको र शितलहर रहेसम्म दाउरा वितरणलाई निरन्तरता दिने प्रमुख डा. पौडेलले बताएका छन् । उपमहानगरले न्यानो कपडा वितरणको कामलाई पनि विभिन्न क्षेत्रसंग समवन्य गरी अघि बढाईने जानकारी दिए ।

‘अहिले हामीले वडामा दाउरा पठाउने काम गरिरहेका छौ । टोल र चोकमा धुनी बाल्ने गरी वडाअध्यक्षको जिम्मा लगाएका छौ’ नगर प्रमुख डा. पौडेलले भने ‘अति बिपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने कामलाई पनि अघि बढाएका छौ, जसका लागि विभिन्न क्षेत्रसंग समन्वय भईरहेको छ ।’ चिसोबाट जोगिनका लागि उपमहानगरले जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाएको डा. पौडेलले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*