बारामा चिसोका कारण जनधनको क्षेति हुन नदिन के गर्देछ प्रशासन ?

ए वान डेस्क /
बारामा चिसोका कारण बर्सेनि जनधनको क्षति हुने गरेपनि सरकारी स्तरबाट अहिलेसम्म कुनै प्रकारको ठोस प्रयास भएको देखिएको छैन । शीतलहरबाट बच्न ठोस योजना नबनेकै कारण बर्सेनि बारामा जनधनको क्षति हुँदै आएको छ । यस विषयमा स्थानीय प्रशासन उदासीन देखिएको छ ।
शीतलहरबाट सर्वसाधारणलाई बचाउन पूर्वतयारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन र स्थानीय तहको हो तर समयमै जागरुक नहुँदा शीतलहरले बाराका सहरी तथा ग्रामीण क्षेत्रका सर्वसाधारणले समस्या भोग्नुपरिरहेको छ । शीतलहरबाट मान्छे मर्ने क्रम सुरु भएपछि मात्र स्थानीय प्रशासन जाग्ने र देखावटी रुपमा जिल्लाको सीमित क्षेत्रमा आगो ताप्ने व्यवस्था मिलाउने र कम्बल वितरण गर्ने कार्यक्रम लिएर अघि बढ्दा सोचे अनुसारको क्षति न्यूनीकरण हुन नसकेको स्थानीय युवा सुमन साहले बताउनुभयो ।
‘शीतलहर यस वर्षमात्र आएको होइन । यो बर्सेनि आउने कुरो हो तर जहिलेपनि बारा प्रशासनको रबैया उस्तै रहने गरेको देखिन्छ, यस वर्ष पनि त्यही कुरो दोहोरिएको हो’, साहले भने, ‘शीतलहरबाट बच्न पूर्वतयारीकै अभावमा विगतमा पनि बारामा कयौले ज्यान गुमाइसकेका छन् । यस वर्ष पनि मान्छे मर्न सक्ने स्थिति रहेकाले समयमै स्थानीय प्रशासनले पहल देखाउनु आवश्यक छ ।’
बारामा अहिलेसम्म झन्डै ४ पटक जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिसकेको छ । तर ठोस योजना भने लागु गर्न सकेको छैन् । बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्थानीय तहसंग समन्वय गरेर प्रत्यक वडामा १०० वटा कम्बल वितरण गरिएको जानकारी दिनुभयो ।
हामिले बिभिन्न संघ–संस्थासंग समन्वय गरिरहेका छौ, समय–समयमा दाउरा वितरणपनि गरिरहेका छौ, त्यसका साथै न्यायो कपडा पनि वितरण गरिरहेका छौ ।
यता, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले शीतलहर सुरु हुनुभन्दा अगाडि नै न्यानो कार्यक्रम सञ्चालन गर्ने बारे सबैलाई जानकारी गराईएको बताउनुभयो । त्यही ढंगले शीतलहर सुरु भएलगत्तै टोलटोलमा दाउरा बाल्ने र अन्य संघसंस्थासँग सहयोग लिएर भएको स्रोतसाधन सदुपयोग गरी न्यानो कार्यक्रम सुरु गरिएको उहाले बताउनुभयो ।