यसरी मिल्यो जैतापुर स्वास्थ्य चौकीको विवाद

ए वान डेस्क
२७ पुष २०७४, बिहीबार ०८:०९

झण्डै १० महिनादेखी विवादमा रहेको जीतपुरसिमरा उपमहानगरपालिका १७ स्थित जैतापुरमा रहेको स्वास्थ्य चौकीको विवाद समाधान भएको छ । स्थानिय तह पुनःसंरचनाका क्रममा मनहर्वा गाविसलाई दुई उपमहानगरमा गाभिएपछि जैतापुरमा रहेको स्वास्थ्य चौकी कहा राख्ने विवाद सुरु भएको थियो । साविकको मनहर्वा गाविसको १, २ र ८ नम्बर वडालाई जीतपुरसिमरा र अन्य वडालाई कलैया उपमहानगरपालिकामा राखेर पुनःसरचना गरिएपछि स्वास्थ्य चौकीको विवाद चुलिएको थियो ।

पुनःसरचनाअनुसार स्वास्थ्य चौकी जीतपुरसिमरा उमपहानगरपालिका भित्र पदर्छ । स्वास्थ्य चौकी जीतपुरसिमरामा परेपछि मनहर्वा गाबिस ४ हाल कलैया उपमहानगरपालिका २४ स्थित सखुईका स्थानियले आफ्नो क्षेत्रमा हुनुपर्ने अडान राखेपछि विवाद सुरु भएको हो । स्थापनाकालदेखी सञ्चालनमा रहेको स्थानमै स्वास्थ्य चौकी हुनुपर्ने जैतापुरबासीको भनाई र आफ्नै क्षेत्रमा ल्याउनुपर्ने सखुईबासीको अडानले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको थियो ।

जैतापुरका स्थानिय स्वास्थ्य चौकी स्थानान्तरणको पक्षमा नदेखिएपछि सखुईका स्थानियले गत बैशाख ४ गते स्वास्थ्य चौकीको सामान आफ्नो क्षेत्रमा लगेका थिए । आफूहरुलाई जानकारी नगराई राती आएर स्वाथ्य चौकीको सामान सखुईबासीले लगेको भन्दै जैतापुरका स्थानियले संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका थिए । सखुईमा रहेको बिद्यालय भवनमा लगेर स्वास्थ्य चौकीको सामान राखिएपछि सेवा ठप्प हुन पुगेको थियो ।

विवादका कारण स्वास्थ्य सेवा ठप्प भएपछि बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरको उपस्थितीमा दुबै पक्षबिच दुबै स्थानमा सेवा सञ्चालन गर्ने सहमती सोही समयमा भएको थियो । सहमतीका आधारमा सेवा सञ्चालन हुदै आएपनि पछिल्लो समय स्वास्थ्य चौकीमा खटिएका कर्मचारीले सखुईबाट मात्रै सेवा दिन थालेपछि जैतापुरमा नागरिक समस्यामा परेका थिए ।

जैतापुरमा स्वास्थ्य सेवा ठप्प भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा। कृष्ण पौडेलले विवादको दिर्घकालिन निकास निकाल्ने प्रयास स्वरुप सर्वपिक्षय बैठकको आवहन गरेका थिए । जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश यादव, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख रोशनलाल चौधरीको उपस्थितीमा बसेको बैठकले कर्मचारीको सेवा क्षेत्र बिभाजन गर्दै दुबै क्षेत्रमा सेवा सञ्चालन गर्ने सहमती भएको हो ।

दुबै उपमहानगरका नागरिकले स्वास्थ्य सेवा पाउने गरी बैठकले जैतापुरमा स्वास्थ्य चौकी र सखुईमा स्वास्थ्य संस्था सञ्चालन गर्दै सेवा प्रदान गर्ने निर्णय गरेको जीतपुरसिमराका नगर प्रमुख डा। पौडेलले बताए । लामो समयदेखी सञ्चालनमा रहेको स्वास्थ्य चौकीको अस्तित्व नै समाप्त गर्ने गरी कसैले काम गर्न नहुने भन्दै नगर प्रमुख डा। पौडेलले सबैको अधिकार स्थापित हुनेगरी काम गर्नुपर्ने बताए । कलैया उपमहानगरपालिकाका नगर प्रमुख यादवले बैठकमा जैतापुरबाट स्वास्थ्य चौकी हटाउनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका थिए । दुबै क्षेत्रका नागरिकले सेवा पाउनुपर्ने कुरामा सहमत रहेको भन्दै यादवले अबको सहमतीपछि कुनै किसिमको विवाद नआउने बताए ।

सहमतीपत्र अनुसार जीतपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरस्थित स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट शेष नारायण महतो, अहेव राम नरेश साह र अनमी रिमा कार्की खटिनेछन् । कलैया उपमहानगरपालिका २४ सखुई स्थित स्वास्थ्य संस्थामा खटिने कर्मचारीमा सिनियर अनमी पानमती चौधरी, अहेव शान्ति थापा मगर रहेका छन् । एक अहेव कर्मचारीको पद रिक्त रहेको छ ।

सहमती अनुसार दुबै क्षेत्रमा कर्मचारी खटाउने जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख चौधरीले बताए । बैठकमा जीतपुरसिमरा उमपहानगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत रामकृष्ण उप्रेती, कलैया उपमहानगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण पाण्डे, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष नवराज खड्का, वडा नम्बर १८ का अध्यक्ष अर्जुन दहाललगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*