सिमरा गोल्डकप : वीरगञ्ज सेमीफाईनलमा, संकटा बाहिरियो

प्रतिस्पर्धात्मक खेलमा डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पराजित पर्दै वीरगञ्ज यूनार्ईटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको सेमीफाईनलमा प्रवेश गरेको छ ।
वीरगञ्ज यूनाईटेडका लागि खेलको १६ औं मिनटमा अमर डंगोलले गरेको गोल निर्णायक बन्यो । विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिवाउण्ड बललाई डंगोलले गोलमा परिणत गरे ।
पहिलो हाफमा सम्हालिन नसकेको संकटा खेलको शुरुवातमै १–० ले पछि परेपछि वीरगञ्जले झन आक्रामक खेल खेलेको थियो । झण्डै ७ हजार घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज यूनाईटेडले पहिलो हाफमा संकटालाई दवावमा राख्यो ।
दोश्रो हाफमा लयमा फर्किएको संकटाले थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा क्वाटरफाईनलबाटै घर फर्कन बाध्य भयो ।
वीरगञ्ज यूनाईटेडको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४ औं मिनटमा घाइते हुँदै मैदानबाट बाहिरीएका थिए । डंगोलले सेमिफाईनल समेत गुमाउन सक्ने वीरगञ्ज यूनाईटेडका प्रशिक्षक सुलभ जंग राणाले बताए । उनको खुट्टामा चोट लागेको छ ।
खेलको म्यान अफ दि म्याच वीरगञ्ज यूनाईटेड क्लबका निशान लिम्बु घोषित भए ।
सेमिफाइनल समिकरण पुरा
वीरगञ्ज यूनाईटेडको जीत संगै सिमरा गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ । फाईनल प्रवेशका लागि वीरगञ्ज यूनाईटेडले विहिबार त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्रिस्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसंग प्रतिस्पर्धा गर्नेछ ।
के भन्छन् प्रशिक्षक ?
पराजयपछि साविक विजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले टिम सेट नहुँदै खाएको गोल फर्काउन नसक्नु टिमका लागि दुर्भाग्य भएको बताए । पहिलो हाफमा गोल खाएपनि दोश्रो हाफमा थुप्रै अवसर गुमाएका कारण पराजय भोग्नु परेको बताए । पहिलो हाफमा खेलाडी विच आपसी तालमेलको अभाव भएपनि दोश्रो हाफको प्रदर्शन सन्तोषजनक रहेको खड्गीले बताए ।
वीरगञ्ज यूनाईटेडका प्रशिक्षक सुलभजंग राणाले संकटा जस्तो शक्तिशाली टिमलाई पराजित गर्न गर्न सक्नु आफूहरुका लागि सुखद अवसर भएको बताए । टिमको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल घाईते हुँदै मैदान बाहिरिएपछि दोश्रो हाफमा फिनिसिङ कमजोर देखिएको राणाले बताए ।