जानकी जन्मजयन्ती हर्षोल्लासपूर्वक मनाइँदैं

माता जानकीको जन्मजयन्ती प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइँदैंछ ।
माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।
यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।
यस अवसरमा विशेष रूपमा जनकपुरधामको नौलखा मन्दिरमा बिहानैदेखि श्रद्धालुहरू पूजा–पाठ र बधाई गानका लागि उमङ्गित देखिन्छन् । बिहानै दुग्धमति नदीमा स्नान गरी जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु जीवनलाई कृत्य सम्झन्छन् ।
सो मन्दिरको गर्भगृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मको वेला गाइने गीत), रामकथा, जानकी जन्मको विवेचन, बधाई गीत, छठी महोत्सव मनाइने चलन छ ।
जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन् । यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रगटीकरण देखिन्छन् । उहाँ महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिलाहरू उहाँको पदचिन्हको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन् ।
यही भावभूमि मिथिला क्षेत्रमा एउटा भनाइ छ – गौरी सन भाग आओर सीता सन सोहाग । (अर्थात् विवाहिता स्त्रीको भाग्य गौरी जस्तो र सौभाग्य जानकी जस्तो हुनुपर्दछ ।)
विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ । धार्मिक ग्रन्थहरूमा भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ । जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धेर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ ।
जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ । त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासीहरू सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको सुरूदेखिनै व्यतीत गर्दै आएको विश्वास पाइन्छ ।
जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ , त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ । उहाँको मैथिली, सीता, जानकी र सिया पर्यायवाची नामहरू छन् । उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् । अतः पण्डित सतानन्दले यसरी लेखेका छन् :
जानकी स्वयं वेदमाता , जानकी त्रिकोणात्मिका
जानकी विन्दु रूपाच, सर्वविद्या समन्विता
अर्थात् जानकीमै सबै वेद, शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ । किम्बन्ती अनुसार अनिकालबाट मूक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो । राष्ट्र कवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दै यसरी लेखेका छन् ः
जन्मिन यहाँ जानकी
मञ्जरी जस्तै धानकी
माण्डवी ,कीर्ति, उर्मिला
बहिनी बाल चञ्चला
लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
अर्पित भइन राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला
शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा ‘सी’ मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यहीनै माया र विद्या स्वरूप हो । ‘स’ कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन् ।
माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उहाँलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ ।
जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि मात गर्ने खालको थियो, मर्यादा पुरूषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए ।
यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनुनै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय छ ।