बारामा पनि धान दिवस मनाईदै

प्रदिप गौतम /
बिभिन्न कार्यक्रमको आयोजना गरी बारामा पनि आज १५ औ धान दिवस मनाउने तयारी गरिएको छ । दिवसको अवसरमा जिल्लाको डुमरवाना, निजगढ, मनर्हवा, सिमरा लगायतका क्षेत्रमा धान दिवस मनाउने तयारी गरिएको हो ।
यसबर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने राखिएको छ । दिवसको अवसरमा डुमरवानामा समाज सुधार कृषि सहकारी संस्था र प्राविधिक शिक्षालय रजघट्टाले आज धान रोपाई कार्यक्रम गर्देछ ।
यस्तै निजगढमा रेडियो मध्य तराईले पनि धान रोपाई गर्न लागेको रेडियोका प्रबन्धक निर्देशक उमेश सुनारले जानकारी दिनुभयो । दिवसको अवसरमा मनहर्वाको साना किशान कृषि सहकारी संस्थाले पनि धान रोपाई कार्यक्रम गर्देछ ।
सिमरामा आज दिउसो धान रोपाई कार्यक्रम गर्ने तयारी भईरहेको छ ।
असार महिना ‘मानो रोपेर मुरी फलाउन’े दिन । असार १५ गतेलाई प्रत्यक बर्ष धान दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।