ब्राजिल लगातार सातौँ पटक विश्वकपको क्वार्टरफाइनलमा

ए वान डेस्क
१८ असार २०७५, सोमबार २२:३८

मेक्सिकोलाई २–० गोलअन्तरमा पराजित गर्दै पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको सामारा एरिनामा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।

नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ बिट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोल लाइन नजिकैबाट बललाई जाली चुमाएका हुन् ।

खेलको नियमित समय सकिनु २ मिनेटअघि लिभरपुलका फरवार्ड रोवर्टो फिर्मिन्होले नेइमारको क्रसमा गोल गरे । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा भने मेक्सिकोले ब्राजिललाई गोल गर्न रोकेको थियो । मेक्सिकोका जाभियर हर्नाण्डेज, लुजानो लगायतले केही अवसर पाए पनि गोल गर्न सकेनन् ।

ब्राजिलले अहिलेसम्म मध्य तथा उत्तर अमेरिकी टोलीसँग विश्वकपमा हार्नुपरेको छैन । जुन उसले यस खेलमा पनि निरन्तरता दियो । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनलमा पुगेको छ भने सन् १९९४ र २००२ मा च्याम्पियन नै बनेको छ ।

छैटौं पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिलले सेमिफाइनल प्रवेशका लागि बेल्जियम र जापानबीच आजै केही बेरमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*