बारामा मालपोत र नापि काण्ड : असोज ३० देखि साउन २९ सम्म, के–के भयो ?
प्रदिप गौतम /
सरकारले २०७१ साल असोज ३० गते सिमरासहित देशका बिभिन्न २२ स्थानमा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय गर्यो । सेवा केन्द्र थप गर्ने निर्णय सरकारले गरेसंगै कलैयाका केहि लेखापढि व्यवसायीले गलत प्रचार गर्न थाले ।
कलैयाबाट मालपोत र नापि कार्यालय सार्न लागिएको भन्दै त्यहाका लेखापढि व्यवसायीले आन्दोलन चर्काए । कलैयामा आन्दोलन चर्केपछि सरकार आफैले सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय फिर्ता लिन बाध्य भयो ।
लगत्तै आन्दोलनकै कारण आफ्नो निर्णयबाट सरकार पछि हटेकोभन्दै सिमरा क्षेत्रका बासिन्दा सेवा केन्द्र स्थापना गर्न माग गर्दै आन्दोलित भए ।
एक भएका थिए राजनितिक दल
सेवा केन्द्रकै मागलाई लिएर सिमरामा सबै राजनीतिक दल त्यसबेला एक भएका थिए । निर्णय सच्याएर सरकारले सेवा केन्द्र तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग उनीहरुको थियो । त्यसबेला बिभिन्न राजनितिक दल, मजदुर ट्रेड युनियन लगायत बिभिन्न संघ–संस्थाले आन्दोलनप्रति एक्यबद्धता समेत जनाएका थिए ।
निर्णय स्थगित
मालपोत तथा नापी कार्यलयको सेवा केन्द्र स्थापना गर्ने पुरानो निर्णय कार्यान्यवन गर्न माग गर्दै सिमरा क्षेत्रका स्थानीय बासिन्दाले आन्दोलन शुरु गरे । पछि सिमराको आन्दोलनले असहज परिस्थिति निम्तिन थालेपछि सरकारले निर्णय फिर्ता लियो । सरकारले निर्णय फिर्ता लिएपछि सिमरा आसपासका स्थानीय झनै आन्दोलित भए ।
सेवा केन्द्र थप गर्ने निर्णय स्थगन गरेकोभन्दै स्थानीयले सरकारविरुद्ध आन्दोलन चर्काउदै लगे । सरकारलाई दबाब दिन स्थानीयले आमहडताल समेत गरे । जसका कारण सिमरा केहिदिन त रणभुमिमा समेत परिणत भएको थियो ।
त्यसबेला कहा–कहा भयो आमहडताल ?
सरकार मागप्रति गम्भीर नभएको भन्दै स्थानीयले सेवा केन्द्र थप गर्न लागिएको साविकका १२ वटा गाविसभित्र आम हडताल घोषणा गरे । आम हडतालका कारण पिप्रासिमरा, भवानीपुर जीतपुर, डुमरवाना, निजगढ, मनहर्वा, फत्तेपुर, छातापिप्रा, लिपनीमाल, इनर्वासिरा, रामपुर टोकनी, अमलेखगंज र बुनियाद क्षेत्र प्रभावित हुन पुग्यो ।
बन्दकर्ताले यातायात पूर्णरूपमा चल्न दिएनन् भने शैक्षिक संस्था, कलकारखाना, विमानस्थल, बजार, सरकारी कार्यालय ठप्प पारे । आम हडताल सफल बनाउन बन्दकर्ता माइकिङ गर्दै हिडे ।
रातारात स्थगित भयो आन्दोलन
मालपोत र नापी कार्यालयको सेवा सेवा केन्द्र सिमरामा ल्याउने निर्णय सरकारले उल्टाएको विरोधमा आन्दोलनमा उत्रिएका सिमराबासीले पछि आन्दोलन स्थगित गरे । केन्द्रिय तहमै वार्ता गर्ने सहमति भएपछि मालपोत स्थापना सरोकार समितिले आन्दोलन स्थगित गरेको थियो ।
आन्दोलनको १०औ दिन तत्कालका लागि आन्दोलन स्थगित गरी केन्द्रीय तहमै वार्ता गर्न काठमाडौं जाने निर्णय गरियो । रातिअबेरसम्म बसेको मालपोत कार्यालय सिमरा स्थापना सरोकार समिति र राजनीतिक दलका नेताहरु सहभागी बैठकले अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीलाई ज्ञापन
बैठकले माग पूरा गराउन दबाब दिन तत्कालै एक टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमाडौ जाने निर्णय गर्यो । सरोकार समितिका संयोजक भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको आन्दोलन स्थगित गर्ने निर्णयपत्रमा संयोजक अधिकारीसगै नेपाली काँग्रेसका छविलाल पौडेल, नेकपा (एमाले)का कृष्ण खनाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका राधादेवी साह, राप्रपा नेपालका सुरज लम्साल र राष्ट्रिय जनमोर्चाका कर्ण थापाले हस्ताक्षर गरेका थिए ।
सो टोलिले पछि प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापनपत्र समेत बुझायो ।
त्यसबेला …..
त्यसबेला नेपाली काग्रेसको सरकार थियो । काग्रेस नेतृत्वको सरकारमा शुशिल कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो भने बामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो । बालकृष्ण पन्थि बाराको प्रमुख जिल्ला अधिकारी हुदा लोकेन्द्र बहादुर मल्ल जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक हुनुहुन्थ्यो ।
यता ईलाका प्रहरी कार्यालय सिमरामा भने कुमार बिक्रम थापा प्रहरी नीरिक्षक हुनुहुन्थ्यो ।
बर्षौसम्म चुपचाप
काग्रेस नेतृत्वको सरकारले सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय तत्कालका लागी स्थगित गरेसंगै सिमराका राजनितिक दलका नेताहरु बर्षौसम्म चुपचाप बसे । कसैलेपनि यो बिचमा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज उठाउन सकेनन् ।
पौडेलले देखाए चासो
पछिल्लो समय बाम गठबन्धनसंगै बनेको केपि ओलि नेतृत्वको सरकारको समयमा तत्कालिन माओवादी केन्द्रले यसप्रति बिशेष चासो देखाएको देखियो । खासगरी तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेलले सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र ल्याउन बिशेष भुमिका खेल्नुभयो ।
उहाले तत्कालिन भुमि सुधारमन्त्री चक्रपाणी खनालसंग निरन्तरको छलफल र संवाद गर्नुभयो त्यसपछि भने सरकारले चासो दियो । खनाल नेतृत्वको मन्त्रालयले त्यसको केहिसमयपछि गौर र सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने पुरानै निर्णय कार्यान्वयन गर्ने पुनः निर्णय गर्यो ।
मन्त्रीपरिषदको बैठकले पुरानै निर्णय कार्यान्वयन गर्ने निर्णय गरेसंगै सिमरामा खुशियाली छायो ।
फेरी असन्तुष्टि
सरकारले सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने पुरानै निर्णय कार्यान्वयन गर्ने निर्णय गरेसंगै कलैयामा फेरी असन्तुष्टि चुलियो । सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने पुरानै निर्णय कार्यान्वयन गर्न त्यहाका बिभिन्न राजनितिक दलका नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलिसहित बिभिन्न मन्त्रालयका मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाए ।
निकै चलखेल र भ्रमका बाबजुतपनि सरकारले असन्तुष्ट पक्षसंग निरन्तर बार्ता र संवाद गर्यो । अन्ततः असन्तुष्टि व्यक्त गर्ने राजनितिक दलका नेताहरुसंगै जिल्लाका केहि जनप्रतिनिधिहरु समेत पछि हट्न बाध्य भए । पछि सरकारले निर्णय कार्यान्वय गर्ने गरी आन्तरीक तयारी अघि बढायो ।
मंगलवार राति श्रेस्ता आईपुग्यो
निकै लामो चलखेल र असन्तुष्टिका बिच मंगलवार राति मालपोत र नापि कार्यालय कलैयाको श्रेस्ता सिमरा ल्याईएको छ । झन्डै राति सबा ९ बजेको समयमा कलैयाबाट कडा सुरक्षाकाबिच श्रेस्ता सिमरा ल्याईएको थियो ।
श्रेस्ता आएसंगै सिमराबाट मालपोत र नापि कार्यालयको सेवा पाउनेमा सबैजना ढुक्क देखिए ।
पुजा गरियो
श्रेस्ता आएको भोलिपल्ट मालपोत र नापि कार्यालयको बिधिवत रुपमा पुजाआजा गरिएको छ । मालपोत कार्यालयको बिहान १० तथा नापि कार्यालयको दिउसो १ बजे पुजाआजा गरिएको थियो ।
के भन्छन् सरोकारवाला ?
सिमरामा मालपोत र नापि कार्यालयको सेवा केन्द्र थप गर्ने निर्णय कार्यान्वयन गर्न महत्वपुर्ण भुमिका खेल्ने नेकपाका युवा नेता राजन पौडेलले सिमरामा मालपोत र नापि कार्यालय ल्याउन नदिन केहि तत्वले भ्रम शिर्जना गरेको बताउनुभयो । ‘केहि व्यक्तिहरु मालपोत र नापि कार्यालय सिमरामा स्थापना गर्न नदिन अनावश्यक भ्रम फैलाउने थाले, तरपनि हामीले सिमरामा मालपोत र नापि ल्याउन सफल भयौ’ पौडेलले भन्नुभयो ।
पौडेलले मालपोत र नापि कार्यालयबाट सहज र सजिलो तरिकारले जनताले सेवा पाउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । ‘यस क्षेत्रका जनताले सहज रुपमा सेवा पाउनेमा हामी बिश्वस्त छौ, अनि जनताहरु उत्साहित पनि छन्’ उहाले भन्नुभयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरेले भन्नुभयो ‘अब जनताले यो कार्यालयबाट सहज रुपमा सेवा पाउनेछन्’ । युवा व्यवसायी सुदिप रिमालले लामो रस्साकस्सीपछि सिमरामा मालपोत र नापि कार्यालय आउदा आफुहरु निकै खुशि भएको बताउनुभयो । ‘जनताले घरदैलो मै सेवा पाईरहेका छन्, त्यहि अनुरुप अब यस भेगमा जनताले पनि नजिकबाटै सेवा पाउने छन्’ उहाले भन्नुभयो ।
केहिदिन भित्रै उद्घाटन
मालपोत र नापि कार्यालय सिमराको केहिदिन भित्रै उद्घाटन गर्ने तयारी गरिएको छ । मालपोत कार्यालय सिमराका प्रमुख मदन प्रसाद गुप्ताले कार्यालयको सबै तयारी पुरा भईसकेकाले केहिदिन भित्रै उद्घाटन गरिने बताउनुभयो ।
‘हामीले श्रेस्ता ल्याईसक्यौ, अब कर्मचारी व्यवस्थापन गर्न बाकी छ’ उहाले भन्नुभयो ।
कहा कहा जनताले पाउछन् सेवा ?
बजनीमा रहेको मालपोत र नापि कार्यालयबाट अब उत्तरी क्षेत्रको साविकका पिपरासिमरा, भवानीपुर जितपुर, डुमरवाना, फत्तेपुर, छातापिपरा, लिपनीमाल, रामपुरटोकनी, ईनर्वा्सिरा, बुनियाद, मनहर्वा, निजगढ र रातोमाटेका नागरिकले सेवा लिन सक्नेछन् ।























