बाराबाट १२२ किलो गाँजासहित दुई जना पक्राउ

ए वान डेस्क
२८ जेष्ठ २०८१, सोमबार १४:४९

बारा प्रहरीले एक सय २२ केजी लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। गाँजाको कारोबार भई सवारी आउँदै गरेको सूचना पाएको प्रहरीले बाराको विभिन्न स्थानबाट एक सय २२ किलो गाँजासहित दुईजना पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। उनीहरूको साथबाट एक थान कार, दुई थान मोटरसाइकलसमेत बरामद भएको छ।

प्रहरीले पूर्व–पश्चिम लोकमार्गको जितपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगन्जमा मकवानपुर जिल्लाको मनहरीबाट बारातर्फ आउँदै गरेको कारको डिक्कीमा लुकाइछिपाई राखेको ८० किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।

प्रहरीले बा।१०च ३६१९ नम्बरको कारको डिक्कीमा लुकाइछिपाई राखेको ८० किलो लागुऔषध गाँजासहित कारचालक चितवन जिल्ला राप्ती नगरपालिका– १० रिकाटारका २५ वर्षीय मानबहादुर वाइवा र कारमा सवार मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका– ५ का २६ वर्षीय सुमन स्याङताङलाई प्रहरीले पक्राउ गरेको छ।

नियन्त्रणमा लिइएका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला अदालत बारा कलैयाबाट दिन ७ ९सात० म्याद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै, प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका– १ पथलैयामा हेटौँडाबाट बारा आउँदै गरेको प्र।०३–००२प ५८५४ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले चेकिङ भइरहेको देखेपछि मोटरसाइकलपछाडि बाँधेको झोला र मोटरसाइकल त्यहीँ छोडेर फरार भएका छन्।

उनले फालेको झोलाबाट पनि ३२ किलो गाँजा बरामद भएको छ। ती व्यक्तिको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

यस्तै, इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका– १ हनुमानचोकमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेको बिआर ०५ सी ७०५४ नम्बरको भारतीय हिरोहोन्डा मोटरसाइकलमा सवार व्यक्ति पनि प्रहरी जाँच भइरहेको देखेपछि गाँजा बोकेको झोला फालेर फरार भएका छन्। उनले फालेको झोलामा पनि १० केजी गाँजा बरामद भएको छ।

सो मोटरसाइकल र ती व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक नवीन राईले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*