कक्षा ११ को परीक्षाफल पुस तेश्रो साता

ए वान डेस्क
६ पुष २०७४, बिहीबार १३:४२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेश्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक परीक्षाको मिति सार्दै गएको असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाई गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले ढिलोमा पुसको तेश्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो ।

नतिजा सार्वजनिक गर्न ढिलाई हुँदा परीक्षाफल प्रकाशित भएको एक महिना आउने मौका परीक्षा, त्यस पछि कक्षा १२ को परीक्षा, शिक्षा शास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एक महिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाईमा धेरै बोझ थपिने भए पनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन् ।

तर नियन्त्रक बतासले भने कक्षा ११ को नतिजामा ढिलाई हुँदा विद्यार्थीलाई कुनै असर नपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘विद्यार्थीलाई असर पर्न सक्ला भनेर आंशिकको नतिजा सार्वजनिक गरिसकेका छौ, नियमित परीक्षाको नतिजा ढिलाई हुँदा विद्यार्थीलाई खासै असर पर्दैन, हामी विद्यार्थीलाई असर पर्ने काम गर्दैनौँ ।’

बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षक, सम्परीक्षण गर्ने प्राध्यापकहरु चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाई भएको उहाँको भनाई छ । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

यसअघि गएको मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा १ लाख १ हजार ३७५ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ७४ जना अर्थात ३५ दशमलब ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*