खर्च रकम बुझाउन नसकेपछि बारा विस्फोटका मृतकको शव अस्पतालमै

ए वान डेस्क
१९ फाल्गुन २०८०, शनिबार १६:२५

निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेजमा गत सोमबार भएको विस्फोटमा परी उपचारको क्रममा मृत्यु भएका राकेश जैसवालको शव अझै पनि अस्पतालमै रहेको छ।

वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा भएको खर्च रकम बुझाउन नसकेपछि आफन्तले शव घर लगेर सदगद गर्न नसकेका हुन्। अस्पतालका अनुसार उनको उपचारमा ५ लाखभन्दा बढी खर्च भएको छ।

शब बुझ्न भनेर पुगेका आफन्त अस्पतालले मागेको रकम बुझाउन नसकेपछि त्यसै घर फर्किएका छन्। भारतको विहारस्थित मोतिहारी घर भएका ३५ वर्षिय राकेशले निजगढ– ९ स्थित कवाडी संचालक रमेश जयसवालको पसलमा कवाडीको सामान संकलन गर्ने काम गर्दै आएका थिए। उनले नै रमेशको कवाडी पसलबाट उक्त विष्फोटक पदार्थ अटोरिक्सामा राखेर रोहित वर्कशपमा पुर्याएका थिए।

यसैबीच, सोमबार निजगढमा भएको विष्फोटनको घटनामा प्रहरीले दिएको मृतकको नाम, थर, ठेगाना र उमेर पनि नमिलेको भन्दै मृतकका आफन्तले सच्याउन माग गरेका छन्।

निजगढ– ७ स्थित रोहित वर्कशपमा तीनजनाको ज्यान जाने गरी गत भएको विष्फोटमा ज्यान गुमाएका रौतहट देवाही गोनाही नगरपालिका– ९ का १८ वर्षीय रिपु रजक धोबीको नाम, थर, ठेगाना र उमेरसमेत फरक परेको भन्दै आफन्तले सच्याउन माग गरेका हुन्।

घटनापछि प्रहरीले सार्वजनिक गरेको घाइते र मृतकको विवरणमा उनको नाम ऋतु रजक, उमेर २० वर्ष र ठेगाना वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ उल्लेख गरेको थियो। रोहित वर्कशप नजिकै कोठा भाडामा लिएर बस्दै आएकी उनकी सानीआमा सुशिला रजकले प्रहरीले आफूहरुसंग सम्पर्क नै नगर तयार पारेकाले विवरण फरक परेको बताइन्।

उनीले रिपु घटनाका अर्का मृतक वर्कशप संचालक रेशम मगरको साडुभाइको छोरा भएको पनि जानकारी दिइन्। वर्ष दिनअघिदेखि नै रेशमकै घरमा बसेर वर्कशपमा काम गर्दै आएका रिपुको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा गत मंगलवार बिहान मृत्यु भएको थियो।

घटनामा गम्भीर घाइते बनेका अर्का भारत रामघडवाका १३ वर्षका अरबिन्द साहको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचारको क्रममा दाहिने हात र देब्र खुट्टा काटिएका उनकोे अवस्थामा केही सुधार आएको छ।

नया पत्रिका दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*