बजनी हत्या काण्ड : स्थानीय महिलाद्धारा जुलुसदेखि चक्काजामसम्मको घोषणा
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको बजनीमा सुवेदी दम्पतीको हत्या भएको झन्डै २ महिना पुग्नै लाग्दासमेत प्रहरी प्रशासनले हत्यारा पक्राउ गर्न नसकेको भन्दै स्थानीय महिलाहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रहरी प्रशासनलाई दबाब दिन स्थानीय महिलाहरुले ३ चरणको आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् ।
३ चरणको कार्यक्रम अन्र्तगत महिलाहरुले केहिदिन अघि सिमरामा जुलुस प्रदर्शन गरेका थिए । नेपाली काग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरुको नेतृत्वमा जुलुस प्रदर्शन गरिएको स्थानीय रिना बजगाईले जानकारी दिनुभयो ।
प्रहरी प्रशासनलाई दबाब दिन महिलाहरुले मंगलवार ईलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्ने तयारी गरेका छन् । त्यसपछि पनि प्रहरी प्रशासनले हत्यारा पक्राउ नगरे चक्काजाम गर्ने आफुहरुले तयारी गरेको बजगाईले ए वान समाचारलाई जानकारी दिनुभयो ।
सुवेदी दम्पतीको मंसिर १५ गते राति हत्या भएको थियो । दिपकको गोठ छेउको परालको कुन्युमा र दिपाको गोठभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
























