यसरी चुनिन्छन् राष्ट्रियसभा सदस्य, कुन प्रदेशमा कति मतभार ?

ए वान डेस्क
१४ माघ २०७४, आईतवार १४:२५

नेपालको संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका संसदको व्यवस्था गरेको छ । सोहीअनुरुप प्रतिनिधिसभाको चुनाव भईसकेको छ भने राष्ट्रियसभाको आउँदो २४ गते हुँदैछ ।

प्रतिनिधिसभा नागरिकबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरुको सभा हो । तर राष्ट्रियसभा भनेको नागरिकको प्रतिनिधिबाट निर्वाचित हुनेहरुको सभा हो । यसलाई माथिल्लो सदन र प्रतिनिधिसभालाई तल्लो सदन भनिन्छ ।

राष्ट्रिय रुपमा ख्याति कमाएका, कानुन, सामाजिक, आर्थिक लगायत विविध क्षेत्रमा ख्याती कमाएका व्यक्तिलाई राष्ट्रियसभाको उम्मेदवार बनाईन्छ । त्यही भएर यसलाई प्रबुद्ध व्यक्तिहरुको सभा पनि भन्ने गरिन्छ ।

कसरी चुनिन्छन् राष्ट्रियसभा सदस्य ?
एकल संक्रमणीय प्रणालीमार्फत प्रत्येक प्रदेशबाट ८/८ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना निर्वाचित हुनेछन् । निर्वाचित भएर आएका ५६ र सरकारको सिफारसमा राष्ट्रपतिले मनोनित गर्ने तीनजना गरी कुल ५९ जना राष्ट्रयसभा सदस्य हुने संवैधानिक व्यवस्था छ ।

मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १८ जना सांसदहरु निर्विरोध चिर्वाचित भईसकेका छन् । महिला, दलित र अपांगता भएका व्यक्ति तथा अल्पसंख्यकमा अरुको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भएका हुन् । तर आयोगले निर्विरोध निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ ।

कुल ८३ जनाको उम्मेदवारी परेकोमा अब बाँकी ३८ सदस्यका लागि २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ ।
जसमा प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार हुनेछ भने गाँउपालिका र नगरपालिकाका प्रमुख र उप–प्रमुखको एक मतलाई १८ मतभार दिईनेछ ।

राष्ट्रियसभा चुनावका लागि कुल २ हजार ५६ जना मतदाता छन् । प्रदेशसभामा निर्वाचित सांसद, नगरपालिकाका मेयर/उपमयेर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

एकल संक्रमणीय भनेको समानुपातिक प्रणाली जस्तै हो । यसमा प्राथमिकताको आधारमा मत दिईन्छ । क्रमसंख्या निर्धारण गरी मत दिने भएकाले पहिलो प्राथमिकताका आधारमा प्राप्त गरेको मत एकपछि अर्काे उम्मेदवारमा सर्दै जानेछ । यसरी परेको मत कम ल्याउने उम्मेदवार पराजित हुनेछन् ।

कुन प्रदेशमा कुन दलको कति मतभार ?
प्रदेश नम्बर १
प्रदेश नम्बर एक मा ९३ जना प्रदेश सांसद छन् भने १ सय ३७ वटा स्थानीय तह छन् । १ जना प्रदेश सांसदको मतभारलाई ४८ र स्थानीय तहका प्रतिनिधिलाई १८ मतभार कायम गरिएको छ ।

जसअनुसार राष्ट्रियसभा सदस्यमा जित्न २३ सय ५० मतको आवश्यक पर्छ । प्रदेश नम्बर १ मा वाम गठबन्धनको मतभार ६२ सय २८ पुग्ने देखिन्छ ।

एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट जितेको छ भने स्थानीय तहमा १ सय ५४ जनाले जितेका छन् । त्यसकारण प्रदेश १ मा एमालेको प्रदेश सांसदको मतभार २४ सय ४८ हुनेछ भने स्थानीय तहबाट २७ सय ७२ हुनेछ ।
माओवादी केन्द्रले प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १५ सिट जितेको छ ।

एकजनाको ४८ मतभारले जम्मा ७ सय २० हुनेछ । माओवादीको स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १६ जना छन् । यसको मतभार २ सय ८८ पुग्ने देखिन्छ ।

त्यसैगरी कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी कुल २१ जना प्रदेश सांसद छन् भने स्थानीय तहमा ९६ जना प्रमुख र उपप्रमुख छन् । उसको प्रदेशमा मतभार १ हजार ८ र स्थानीय तहमा १७ सय २८ पुग्ने देखिन्छ ।

प्रदेश २
प्रदेश २ मा कांग्रेस, राजपा, संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन छ । यसमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले १९ सिट जितेको छ । उनीहरुको मतभार १२ हुन्छ ।

त्यसैगरी राजपाको प्रदेशमा २५ सिट छ भने फोरमको २० सिट रहेको छ । यसमा राजपाको मतभार १२ सय हुन्छ भने फोरमको १३ सय ९२ हुन्छ ।

स्थानीय तहमा कांग्रेसका ८१ जना मतदाताको २३ सय ७०, राजपाको ५५ जना मतदाताको २१ सय ९० मतभार, संघीय समाजवादी फोरमको ५१ मतदाताको २३ सय १० मतभार रहेको छ ।

प्रदेश २ मा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको छ भने स्थानीय तहमा ३७ जना प्रमुख र उपप्रमुख छन् । प्रदेशमा ९ सय ६० र स्थानीय तहमा १६ सय २६ मतभार हुन आउँछ ।

त्यसैगरी माओवादीको १५ जना प्रदेशसभा सदस्य र स्थानीय तहमा ४५ जना विजयी भएका छन् । प्रदेशमा उसको मतभार ९ सय ६० र स्थानीय तहमा १५ सय ३० मतभार हुन आउँछ । यस प्रदेशमा वामगठबन्धनको कुल ३१ सय ५६ मतभार रहेको छ ।

यस प्रदेशमा लोकतान्त्रिक गठबन्धनको मतभार ६८ सय ८८ हुन आउँछ भने वाम गठबन्धनको ३१ सय ५६ मतभार छ । प्रदेश २ मा राष्ट्रियसभाको सदस्यमा जित्न २५ सय ५१ मतभार चाहिन्छ ।

प्रदेश ३
एमालेले प्रत्यक्ष र समानुपातिक गरी ५८ सिट जितेको छ । प्रदेशसभा सदस्यको कुल मतभार २७ सय ८४ पुग्ने देखिन्छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका १३३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३ सय ९४ हुन आउँछ । एमालेको कुल मतभार ५१ सय ७८ हुन्छ ।

माओवादी केन्द्रको प्रत्यक्षमा र समानुपातिक गरी २३ जना प्रदेश सदस्यको मतभार ११ सय ४ हुन आउँछ । स्थानीय तहमा ३३ जना प्रमुख र उपप्रमुख भएकाले मतभार ५९४ हुन आउँछ ।

त्यसैगरी कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी २१ जनाले प्रदेशसभामा जितेका छन् । उनीहरुको कुल मतभार १ हाजर ८ मत हुनेछ । स्थानीय तहमा कांग्रेसका प्रमुख र उपप्रमुख गरी ६७ जनाको मतभार १२ सय ६ हुन आउँछ ।

प्रदेश ३ मा वाम गठबन्धनको ६८ सय ७६ मतभार हुन आउँछ । विवेकशील साझा, नयाँ शक्ति, राप्रपाले कांग्रेसलाई मत दिएमा कांग्रेसको कुल मत २५ सय ८ मत हुन आउँछ । यस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा जित्न २३ सय ८० मतभार ल्याउनुपर्ने हुन्छ ।

प्रदेश ४
एमालेको प्रत्यक्ष र समानुपातिकगरी २७ जना प्रदेश सदस्य रहेका छन् । उनीहरुको १२९६ मतभार हुन आउँछ । स्थानीय तहमा एमालेको प्रमुख र उपप्रमुख गरी ७० जनाको मतभार १२६० हुन आउँछ ।

यसैगरी माओवादीको प्रत्यक्ष र समानुपातिक गरी १२ जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहमा रहेका १२ जनाको मतभार ७९२ हुन आउँछ ।

यस प्रदेशमा कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी कुल १५ सदस्य छन् । उनीहरुको मतभार ७२० हुन आउँछ । स्थानीय तहमा कांग्रेसका प्रमुख–उपप्रमुख गरी ८० जनाले जितेका छन् । उनीहरुको मतभार १४४० हुन आउँछ ।

यस प्रदेशमा वाम गठबन्धनको मत कुल ३३ सय ४८ हुने देखिन्छ भने कांग्रेसको कुल मतभार २१ सय ६० छ । प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा जित्नका लागि १४ सय १६ मत ल्याउनुपर्नेछ ।

प्रदेश ५
एमालेले प्रत्यक्ष र समानुपातिक गरी ४१ जना प्रदेशसभा सदस्य जितेको छ । यसको मतभार १९६८ हुन आउँछ । यसैगरी स्थानीय तहमा एमालेका ९० जना मतदाता छन् । उनीहरुको मतभार १६२० हुन्छ ।

माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरी २२ जना प्रदेशसभा सदस्यले जितेका छन् । उनीहरुको मतभार १०५६ हुन्छ । स्थानीय तहमा माओवादी केन्द्रका ४० जना मतदाताका मतभार ७२० हुन्छ ।

कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी १७ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार ८ सय १६ हुन्छ । स्थानीय तहको ६६ जना मतदाताको ११ सय ८८ मतभार हुन आउँछ ।

यस प्रदेशमा वाम गठबन्धनको ५३६४ मतभार देखिन्छ भने कांग्रेसको २ हाजर ४ मतभार हुनेछ । प्रदेश ५ मा राष्ट्रियसभा चुनाव जित्नका लागि २ हजार ५ मतभार ल्याउनुपर्ने हुन्छ ।

प्रदेश ६
प्रदेश ६ मा एमालेले प्रत्यक्ष र समानुपातिक २० जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभा सदस्यको मतभार ९ सय ६० हुनेछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ५८ जना मतदाता छन् । उनीहरुको मतभार १ हाजर ४४ हुन आउँछ ।

यसैगरी माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरी १३ जना प्रदेशसभा सदस्यको ६२४ मतभार हुन आउँछ । स्थानीय तहमा जितेका ५१ जनाको ९ सय १८ मतभार हुन आउँछ ।

कांग्रेसकातर्फबाट प्रत्यक्ष र समानुपातिक गरी जम्मा ६ जना प्रदेश सदस्य छन् । उनीहरुको मतभार २ सय ८८ छ । स्थानीय तहमा ४१ जनाको १ हाजर २६ मतभार हुन आउँछ ।

यस प्रदेशमा वाम गठबन्धनको ३५ सय ४६ मतभार हुन आउने देखिन्छ । यस प्रदेशबाट राष्ट्रियसभा जित्नका लागि एकजनाले ११ सय ६६ मत ल्याउन आवश्यक छ ।

प्रदेश ७
प्रदेश ७ मा एमालेको प्रत्यक्ष र समानुपातिक गरी २५ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार १२ सय हुन्छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ८३ जनाको मतभार १४ सय ९४ हुन्छ ।

माओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिक गरी जम्मा २५ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ६७२ हुन्छ । स्थानीय तहमा माओवादीको १९ जना मतदाताको मतभार ३ सय ४२ हुन्छ ।

यसैगरी कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी १२ जना प्रदेशसभा सदस्यको मतभार ५ सय ७६ हुन आउँछ । स्थानीय तहमा रहेका ७४ जना मतदाताका मतभार १३ सय ३२ हुने देखिन्छ ।

यस प्रदेशमा वाम गठबन्धनको मतभार ३७ सय ८ हुने देखिन्छ भने कांग्रेसको १९ सय ८ मतभार हुन आउँछ ।
प्रदेश नम्बर ७ बाट राष्ट्रियसभा सदस्य जित्नका लागि एकजनाले १४ सय २९ मतभार ल्याउनुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*