धान उत्पादनको वास्तविक तथ्याङ्क लुकाउँदै कृषि मन्त्रालय

ए वान डेस्क
२३ पुष २०७४, आईतवार ०९:०८

यो वर्षको धान उत्पादनको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न कृषि मन्त्रालयले आनाकानी गरेको छ। गतवर्ष ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष धान उत्पादन बढाउने घोषणा मन्त्रालयले गरेको थियो। तर वर्षामा तराईमा बाढी आएर उत्पादनमा क्षति पुगेपछि देशभरको उत्पादनमा ह्रास आएको अनुमान छ।

मन्त्रालयले आफ्नो घोषणा विपरीत कम धान फलेको पाएपछि तथ्याङ्क नै सार्वजनिक गर्न आनाकानी गरिरहेको छ। मन्त्रालयले यो वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन गर्ने गरी वजेट र कार्यक्रम घोषणा गरेको थियो। तर प्रत्येक जिल्लाको उत्पादन तथ्याङ्क संकलन गर्ने कृषि विभागले ५३ लाख मेट्रिक टन उत्पादन भएको तथ्याङ्क मन्त्रालयलाई पेश गरेको छ।

मन्त्रालय मातहतको तथ्याङ्क महाशाखाले उक्त तथ्याङ्कको थप विश्लेषण गर्दै ५१ लाखमात्रै उत्पादन भएको तयार गरेको छ। एउटै मन्त्रालयका दुई निकायले फरक तथ्याङ्क दिएपछि धान कति फलेको हो भनेर सार्वजनिक गर्न अप्ठ्यारो परेको मन्त्रालय स्रोतको भनाइ छ।

‘मन्त्रालयका अधिकांश कर्मचारी विभागले दिएको ५३ लाखको तथ्याङ्कलाई सदर गरी सार्वजनिक गर्नुपर्छ भन्नेमा छन्, यसो गर्दा गत वर्षको भन्दा केही बढी नै फलेको भन्न सकिन्छ’ स्रोतले भन्यो ‘तर आफै मन्त्रालय मातहतको विशेषज्ञसहितको टोली रहेको महाशाखाले तयार गरेको रिपोर्टलाई पन्छाएर अर्को प्रतिवेदन सार्वजनिक गर्न पनि चुनौती छ।

‘ मन्त्रालयका सचिव डा. सुरोज पोख्रेलले तथ्याङ्क यकिन भइसकेको बताए। तर उनले कति धान फलेको जानकारी दिएनन्। ‘मलाई अहिले ठ्याक्कै कति फलेको हो भन्ने यकिन गर्न गाह्रो भयो। तर देशभरबाट संकलन गरी अन्तिम रुप दिइसकिएको छ’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*