पार्टी फुटेपछि विवेकशील साझाले बोलायो महाधिवेशन
विवेकशील साझा पार्टीले आगामी २०७६ साल फागुनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पुस ३० गतेदेखि माघ १ सम्म बसेको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न मङ्गलबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सूर्यराज आचार्यले महाधिवेशनलगायत नौवटा निर्णय गरेको जानकारी दिए ।
साथै बैठकले भावनात्मक एकताका कारण पार्टी विभाजन भएको निष्कर्ष निकालेको छ । गत शुक्रबार संयोजक उज्ज्वलबहादुर थापा नेतृत्वमा १६ जना केन्द्रीय सदस्यले विवेकशील साझा फुटाएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
सैद्धान्तिक र वैचारिक रूपमा कुनै मतभेद नभए पनि भावनात्मक एकता हुन नसक्दा पार्टीमा विभाजन आएको पार्टी प्रवक्ता सूर्यराज आचार्यले बताए । त्यस्तै उनले विदेशमा रहेका पार्टीका सद्भाव समूहका सदस्यहरूको पार्टी सङ्गठनमा भूमिका र मताधिकारको सुनिश्चितता गर्ने निर्णय पनि गरेको छ ।
साथै प्रदेश १ को प्रदेश संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । यस्तै ३ जनालाई केन्द्रीय कार्यसमितिमा सामेल गराएको छ भने केही केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।
‘पार्टीमा भावनात्मक सङ्कट पहिलेदेखि नै देखिएको थियो । त्यसलाई हामीले राजनीतिक रूपमा भन्दा व्यवस्थापकीय ढङ्गबाट समधान गर्ने खोज्यौँ । त्यसबाट समस्याको समधान हुन सकेन । यो बैठकबाट राजनीतिक ढङ्गबाट समाधान खोज्ने तयारी थियो । तर अगाडि नै साथीहरू छापामार शैलीमा छुट्टिनुभयो’ प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा भने ।
अङ्क गणितको आधारमा थापा समूहलाई पेल्न खोज्नुभएको हो भन्ने प्रश्नमा प्रवक्ता आचार्यले अङ्कगणितको खेल आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
‘हामीलाई अङ्कगणितको खेल केही थाहा छैन । यो कुरा उहाँहरूलाई थाहा रैछ । कति प्रतिशत कति सङ्ख्या उहाँहरू नै भनिरहनुभएको छ । हामीलाई अङ्कगणितको छक्का पञ्जा थाहा छैन । यस्तो छक्कापञ्जा गर्नुभन्दा राजनीति नै गर्दैनौँ’, उनको भनाइ थियो ।
‘हामी वैकल्पिक राजनीतिक शक्ति निमार्णको क्रममा छौँ । आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउने जुनसुकै राजनीतिक दलसँग पार्टी एकता हुन्छ’, उनले भने, ‘तर ठूलो पार्टी बनाउने नाममा वैकल्पिक पार्टीका मर्मविपरीत पनि जाँदैनौँ । पार्टी एकतामा उदारताका साथै निकै सचेत पनि छौँ ।’
फरक प्रसङ्गमा डा. गोविन्द केसीको अनशनलाई पूर्ण समर्थन रहेको प्रवक्ता आचार्यले बताए । ‘वर्तमान कम्युनिस्ट सरकारको एजेन्डा उठाएर डा. गोविन्द केसी इलाममा गएर अनशन बस्नुभएको छ । यसमा हाम्रो पार्टीले पूर्ण समर्थन जनाउँछ । केसीका माग आम नेपाली जनताका भएको उनको भनाइ थियो ।























