लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

युरोपको सपना देखेर नेपाल छाडेका ५ युवा लिबियामा बन्धक बनेको खुलासा भएको छ । म्याग्दी, पर्वत तथा पोखराबाट दुबई हुँदै इटाली पुग्ने सपना बोकेका ५ युवा यतिबेला लिबियामा सहरी गुण्डाको कब्जामा रहेका छन् ।
पोखराबाट काठमाडौं, दुबई, लिबिया हुँदै इटाली पुर्याइदिने भनी दलाललाई प्रतिव्यक्ति करिब १४ लाख बुझाएर हिँडेका युवाहरु लिबियामा सरही गुण्डाको कब्जामा परेका हुन् ।
लिबियामा बन्धक हुनेहरुमा म्याग्दीका दिरस थापा र अमन लोजा, पर्वतका रञ्जित केसी र स्पष्ट ठेगाना नखुलेका ओम गुरुङ र सुरेश केसी रहेका छन् । बन्धक बनाइएकालाई उद्धार गरिदिन परिवारले सरकारसँग आग्रहसमेत गरेको छ ।
यस्तो छ इटाली कथा
करिब ६ महिनाअघि रञ्जित केसीका छिमेकी जितकाजी गुरुङले रञ्जितलगायत अन्य ५ जना युवाहरुलाई इटालीमा काममा लगाइदिन्छु भनी फकाए । पहिले पनि विभिन्न देशमा मान्छे पठाइरहेको भन्ने सुनेपछि विश्वास नगर्ने कुरा नै भएन । त्यति मात्रै होइन, जितकाजीले इटालीमा आफ्नो फुपू रहेको र कामको सबै व्यवस्था फुपूले नै मिलाइदिने भन्दै युवाहरुलाई प्रभावमा पारे ।
त्यसका लागि नेपालमा १३ लाख र इटाली पुगेपछि अर्को १३ लाख दिने सहमति भयो ।
सहमतिअनुसार धिरज थापा, अमन लोजा, रञ्जित केसी, ओम गुरुङ तथा सुरेश केसी भदौमा पोखराबाट काठमाडौँ आउँछन् । उनीहरुलाई पोखराबाट काठमाडौंसम्म ल्याउने तथा पैसा लिने लगायतका सबै काम पोखराका जसध्वज गुरुङले गरे ।
काठमाडौंबाट दुबई जानका लागि कागजात मिलाउनेलगायतका काम सन्तोष पराजुलीले गर्छन् । सन्तोष पराजुली काठमाडौंमा बसेर कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् ।
पोखरामा जितकाजी र जसध्वज गुरुङ तथा काठमाडौंमा सन्तोष पराजुलीको सहयोगमा यी ५ जना युवा भदौमा काठमाडौंबाट दुबईका लागि उड्छन् ।
दुबईबाट लिबिया जाने कागजात मिलाउनै लामो समय लाग्छ र पुसमा उनीहरु लिबिया पुग्छन् । लिबियाबाट सडक मार्ग तथा पैदल यात्रा गरेर सिमानासम्म पुग्ने र त्यहाँबाट पानीजहाजमार्फत् इटाली पुग्ने उनीहरुको सपना हुन्छ ।
तर विभिन्न स्थानमा विभिन्न दलालहरुको सम्पर्क हुँदै लिबिया पुगेका उनीहरु लिबियामै रहेका स्थानीय दलालले अर्को गुण्डा समूहलाई ती युवाहरु सुम्पिदिन्छ ।
इटाली जाने भनेर हिँडेका यी युवाहरु यतिबेला लिबियामा स्थानीय सहरी गुण्डाको कब्जामा छन् ।
लिबियामा रहेका सहरी गुण्डाले उनीहरुसँग त्यहीँ थप १ हजार अमेरिकी डलर माग गरेको छ । त्यसमध्ये रञ्जित केसीको परिवारले दुबईबाटै लिबियामा १ हजार अमेरिकी डलर पठाएका थिए । तर रकम पठाए पनि उनीहरुलाई अझै रिहाई गरिएको छैन ।
आफ्ना आफन्तलाई लिबियामा रहेका दलाल तथा सहरी गुण्डाले नछाडेपछि परिवारका सदस्यहरुले उनीहरुको उद्धार गरिदिनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।
आफन्तले उद्धारका लागि आग्रह गरेलगत्तै गृह मन्त्रालयले यसबारे चासो दिँदै अध्यागमन विभागमा समेत पत्र लेखेर उचित प्रबन्ध गर्न भनेको छ ।
दुई दलाल पक्राउ
यसैबीच लिबियामा बन्धक बनाइएका व्यक्तिहरुका आफन्तले प्रहरीमा उजुरी गरी उद्धारका लागि आग्रह गरेलगत्तै २ जना दलाललाई पक्राउ गरिएको छ । प्रहरीले पोखराबाट जसध्वज गुरुङलाई पक्राउ गरेको छ भने अपराध महाशहाखाको टोलीले काठमाडौंबाट सन्तोष पराजुलीलाई पक्राउ गरेको छ ।
यो समूहले रञ्जित केसीबाट १३ लाख १२ हजार, धिरज थापाबाट १३ लाख ८० हजार, अमज लोजाबाट १३ लाख र ओम गुरुङबाट ११ लाख ६० हजार रुपैयाँ लिएको जानकारी आएको छ । अर्का पीडित सुरेश केसीसँग लिएको रकमबारे भने जानकारी आएको छैन ।
पीडितलाई यातना
इटाली जाने सपनामा लिबियामा बन्धक बनाइएका पीडित युवालाई त्यहाँ चरम यातना दिइएको बताइएको छ । उनीहरुलाई थप रकम माग्न भन्दै यातना दिइएको र एउटा सानो अँध्यारो कोठामा थुनेर राखिएको पीडितका परिवारले बताएका छन् ।
उनीहरुलाई खाने कुरा पनि एक छाक मात्रै दिएको र एउटै भाँडोमा खाना खाने गर्नुपरेको उनीहरुले रुँदै फोनमा भनेका थिए । उनीहरुले केही दिन अघि रुँदै भिडियो सन्देशसमेत छाडेका छन् ।
भिडियो सन्देश छाडेलगत्तै उनीहरुले आफ्ना परिवारसँग कुराकानी गर्दै बन्धक बनाउनेका लागि प्रत्येकको तर्फबाट थप १, १ हजार अमेरिकी डलर पठाइदिन भनेका थिए । कतिपय पीडित परिवारले दुबईबाटै रकम पठाए पनि कतिपयले भने अझै रकम पठाउन सकेका छैनन् ।
नेपाली सेना र इन्टरपोलमार्फत् उद्धारको पहल
नेपालीहरु बनधक बनेपछि कायरोस्थित दूतावासले यसबारे चासो लिँदै गृह र परराष्ट्र मन्त्रालयलाई जानकारीसमेत दिएको छ । जानकारी आएलगत्तै गृह मन्त्रालयले पनि उद्धारको पहल गरेको छ । लिबियामा रहेको नेपाली सेनाको शान्ति मिसन तथा इन्टरपोलको सहयोग लिएर बन्धक बनाइएकालाई उद्धारको पहल भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।