होली खेलौं आँखा र छाला जोगाएर

ए वान डेस्क
६ चैत्र २०७५, बुधबार १२:५६

रंग, अबिर या लोला खेल्दै हुनुहुन्छ ? सचेत हुनोस्, आफूले प्रयोग गरेका रंग या अबिरले कतै हानि नपुर्‍याओस्  । होलीमा खेलिने रंगमा रासायनिक विषाक्त पदार्थ हुने भएकाले आँखा र छाला बचाउन चिकित्सकले सुझाव दिएका छन्  ।

उनीहरूका अनुसार यस्ता रंग तथा अबिरले छालालाई नोक्सान गर्नुका साथै आँखालगायत संवेदनशील अंगमा असर पुर्‍याउँछन् ।

‘बर्सेनि होलीमा आँखाभित्र रंग, अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको पाइन्छ,’ तीन दशकदेखि आँखा उपचारमा संलग्न वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. डीएन साहले भने, ‘आँखामा रंग, अबिर पर्दा या लोला आदिले प्रहार हुँदा रासायनिक र यान्त्रिक चोट लाग्ने सम्भावना रहन्छ ।’ कसैकसैले ढल, नालीको पानी, डढेको मोबिल, ग्रिज प्रयोग गर्छन्, यो झनै जोखिमपूर्ण हो ।

रंगमा थुप्रै माक्रामा वाइल कलर, केमिकल डाई, विषात्त पदार्थ र नोक्सानी पुर्‍याउने तत्त्व हुन्छन् । रसायनशास्त्री विनय झाका अनुसार हरियो रंग कपर सल्फेट (नीलोतुथो), बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग प्रसियन ब्लु र रातो रंग मर्करी सल्फेटले बन्छ । प्राकृतिक, अर्ग्यानिक रंग खासै हानिकारक नहुने भए पनि रासायनिक रंगले तत्कालीन र दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्‍याउँछन् ।

डा. साहका अनुसार रंग, अबिर आँखामा पर्दा यसका साना कणले आँखाको नानीमा घाउ बनाएर यान्त्रिक चोट उत्पन्न गर्छन् । आँखाका विभिन्न भागमा क्षति पुग्ने गरी रासायनिक चोट पनि पुर्‍याउन सक्छन् ।

रसायनको विषाक्त असरले आँखाको नानीको पारदर्शितामा समेत नकारात्मक असर पर्न सक्छ । नानी अर्धपारदर्शक वा अपारदर्शकसमेत हुन सक्छ । आँखाको भित्री भागमा रसायन प्रवेश गरी आँखाको चाप बढाउन सक्नेलगायत समस्या हुन सक्छ ।

यस्ता समस्याको समयमै सही उपचार नहुँदा दृष्टि अल्पता र दृष्टि न्यूनता हुने गर्छ । लोलाको प्रहारले आँखामा यान्क्रिक चोट लाग्नुका साथै रत्तस्राव, नानी पछाडिको नरम पर्दा रेटिना चुँडिन पनि सक्छ ।

रंग, अबिर वा कुनै बाहिरी पदार्थ परे आँखालाई करिब १५ देखि ३० मिनेटसम्म पिउनयोग्य सफा पानीले धुनुपर्ने चिकित्सकको सल्लाह छ । यसपछि स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक भएको आँखाको थोपा औषधि राख्न सकिन्छ । असामान्य दुखाइ वा चिलाइ कायम रहे तुरुन्त नेत्ररोग विशेषज्ञको सल्लाह लिनुपर्ने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णले बताए ।

‘रासायनिक रंगलगायतको उपयोगबाट छाला स्वास्थ्यका लागि सकारात्मक मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, अभ्रख, मर्करी, विभिन्न रसायनलगायत हानिकारक तत्त्व मिसिएको हुन्छ,’ उनले भने । रसायनयुक्त रंगले छालाको एलर्जी हुन्छ । चिलाउनुका साथै घाउसमेत हुन सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*