धेरै तातो चिया पिउने बानी छ? सावधान, क्यान्सर होला है!

धेरैजसो मानिसको दैनिकीको सुरुवात एक कप चियाबाट हुने गर्दछ। चिया पछिल्लोे समय हाम्रो संस्कार र संस्कृति बन्दै गइरहेको छ।
पाहुना आउँदा समैभन्दा पहिलो सम्मान चियाबाट हुने गर्दछ। केही पहिलेसम्म चिया ब्राह्मणहरुले मात्रै प्रयोग गर्न पिय पदार्थका रुपमा लिइन्थ्यो। पछिल्लो समय भने यसले सबै समुदायमा आफ्नो अधिपत्य जमाएको छ।
हामीले दैनिक रुपमा सेवन गर्न चिया स्वास्थ्यका लागि कति फाइदाजनक र कति हानिकारक छ भन्नेतिर सबैले ध्यान दिएको पाइँदैन। पछिल्लो अध्ययनअनुसार तातो चिया छिट्टै पिउनेहरूमा एसोफेगल क्यान्सरको खतरा वृद्धि हुने देखिएको छ।
अध्ययनकर्ताका अनुसार ६० डिग्री सेल्सियस (१४० डिग्री फरेनहाइट)भन्दा तातो पेय पदार्थ दिनको ७०० मिलिलिटर पिउने व्यक्तिमा ९० प्रतिशतभन्दा बढी क्यान्सरको जोखिम हुन्छ। इरानका ५० हजार मानिसमा यो अध्ययन गरिएको थियो।
‘धेरैलाई तातो चिया, कफी र पेय पदार्थ मनपर्छ। हाम्रो अध्ययनका अनुसार तातो पेय पदार्थले एसोफेगल क्यान्सरको खतरा बढाँउछ। त्यसैले तातो पेयलाई पिउनु अघि सेलाउन दिनुहोला’ अध्ययनका प्रमुख, अमेरिकन क्यान्सर सोसाइटीका डा. फरहाद इस्लामीले भने।
अघिल्लो अध्ययनले तातो पेय र एसोफेगल क्यान्सरबीचको सम्बन्ध फेला पारे पनि लेखकका अनुसार ईन्टरनेसनल जर्नल अफ क्यान्सरमा प्रकाशित यो अध्ययनले खास तापक्रम पत्ता लगाएको थियो।
ईन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार एसोफेगल क्यान्सरले विश्वमा हरेक वर्ष ४ लाख मानिसको ज्यान लिने गरेको छ। धुम्रपान, अल्कोहल, एसिड रिफ्लक्स र तातो पेयका कारण एसोफेगसमा (घाँटीदेखि पेटसम्म हुने लामो पाइपलाई एसोफेगस भनिन्छ जहाँबाट खाना र पानी पेटसम्म पुग्छ) बारम्बार हुने घाउ वा चोटका कारण क्यान्सर हुन्छ।
४० देखि ७५ उमेर समूहका ५० हजार ४५ मानिसमा लगभग १० वर्ष अध्ययन गरिएको थियो। सन् २००४ देखि २०१७ सम्म गरिएको सर्वेक्षणमा ३१७ जनामा एसोफेगल क्यान्सरको नयाँ केस पत्ता लागेको थियो।
तातो चिया एसोफेगल क्यान्सर हुनुमा किन जिम्मेवार छ भनेर पत्ता लगाउन थप अनुसन्धानको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।
अध्ययनमा सामेल नभएका लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर स्टेफेन इभान्सका अनुसार पेयको प्रकारभन्दा पनि ताप वा तातोपना नै क्यान्सरको कारण हो।
‘हरेक तातो वस्तु यसको कारण हो, तातो जामले पनि एसोफेगसमा घाउ बनाउन सक्छ। घाउ भएपछिको पीडाले तन्तु परिवर्तन भई क्यान्सर हुन्छ’, इभान्सले भने।
युनिभर्सिटी कलेज लन्डनका सिनियर अध्ययनकर्ता डा. जेम्स डोएडजीका अनुसार तातो पेय एसोफेगल क्यान्सर गराउने उच्च जोखिमको कारक हो।
‘शरीरको कुनै पनि भागमा बारम्बार हुने घाउ र घाउले दिने जलन र पीडाका कारण क्यान्सरको जोखिम बढ्छ भनेर विज्ञहरूले भनिरहन आवश्यक छैन। घामको अनावश्यक तापले छालाको क्यान्सर, धुम्रपानले फोक्सोको क्यान्सर र धेरै थरिका खाना र पेयले आन्द्राको क्यान्सरको जोखिम बढाँउछ’ अध्ययनमा सामेल नभएका डोएडजीले साइन्स मिडिया सेन्टरसँग भने।