प्रधानमन्त्रीको टिप्पणी : विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो

ए वान डेस्क
१४ चैत्र २०७५, बिहीबार १५:४४

प्रधामन्त्री केपी शर्मा ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा उनले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुखद रहेको बताए । उनले कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको पनि टिप्पणी गरे ।

‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुकबाट विखण्डनवाद समाप्त गर्दा पनि कांग्रेसले छाती पिटेको टिप्पणी गरे । ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन’, उनले थपे, ‘ यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको बताए । ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ उनले भने, ‘त्यो एउटा गिरोह हो ।’

कम्युनिस्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई प्रधानमन्त्री ओलीले चेतावनी दिए । कम्युनिस्ट भएकै कारण कतिपयले विप्लव समूहप्रति नरम हुनुपर्ने भनेको भन्दै उनले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको दावी गरे ।

‘कम्युनिस्टको बर्को ओढेकाले कतिपयलाई केही अप्ठेरो लाग्न सक्छ । गृहमन्त्रीलाई नियन्त्रण गर्न खोजे भनेर पनि आएका छन्’, उनले प्रश्न गरे, अनि के गृहमन्त्रीले उनीहरुलाई पड्काउ बम पड्काउ भन्ने ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*