खतराको घण्टी बज्न सक्छ:पुष्पकमल दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ जानुपर्ने बताएका छन्।
प्रतिनिधि सभा संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार भाग लिँदै दाहालले त्याग, बलिदानको संकल्प गरेर नेतृत्वले नीति तथा कार्यक्रम कार्यान्वयनमा लानुपर्ने बताए।
‘नेतृत्वले त्याग, बलिदानको संकल्प नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ। आज नभए, भोलि। भोलि नभए पर्सी,’ उनले भने, ‘संघीयता कार्यान्वयन, कर्मचारी समायोजनमा जटिलता छ। कार्यशैलीगत समस्या छ।’
जनताले यो सरकारको कामलाई निकै धैर्यतापूर्वक हेरिराखेको र सरकारले काम गर्नेमा जनताले विश्वास लिइराखेको दाहालले बताए।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै दाहालले नीति तथा कार्यक्रमलाई आश्वासनको पुलिंदा भनेकोमा प्रतिपक्षको धर्म निर्वाह गरेको बताए।
‘आश्वासनको पुलिंदा भन्नु प्रतिपक्षको धर्मभित्रै छ। सकारात्मक चुनौतीको रूपमा लिएर सरकारले जिम्मेवार भएर कार्यान्वयनमा जानुपर्छ,’ उनले भने।
छिमेकी चीन र भारतबाट काठमाडौंमा रेल आउने उनले बताए। कृषिलाई प्राथमिकता दिएर बेरोजगारी समस्या हल गर्नुपर्ने तथा सुकुम्वासी समस्या समाधानलाई सहयोग पुर्याउने गरी काम गर्नुपर्ने उनले बताए।
उनले नीति तथा कार्यक्रमको आलोचना गरेकोमा प्रतिपक्षी दलहरूलाई धन्यवाद दिएका छन्। – सेतोपाटी























