टिकटकको लत छुटाउन चीनले बनायो ‘एन्टी-एडिक्सन सिस्टम’

ए वान डेस्क
१४ जेष्ठ २०७६, मंगलवार १७:१३

चीनले टिकटकसहितका भिडियो स्ट्रिम गर्ने एप्सको प्रयोगमा कडाइ गरेको छ। युवामा त्यस्ता एप्सको लत बढेपछि ‘एन्टी–एडिक्सन सिस्टम’ विकास गरिएको चिनियाँ अनलाइन पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

यो सिस्टमबाट टिकटकसहित २१ वटा एप्लिकेसनहरू प्रभावित हुनेछन्। चीनको अनलाइन नियामक संस्था साइबरस्पेसले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नै नियमन कार्यक्रम ल्याइएको जनाएको छ। नयाँ नियमानुसार त्यस्ता एप्सहरूले अब आफ्नो प्लेटफर्ममा ‘युथ मोड’ उपलब्ध गराउनुपर्नेछ। युथ मोड अन भएपछि सीमित सामग्रीमा मात्र युवा प्रयोगकर्ताको पहुँच हुनेछ।

युवालाई शिक्षामूलक, राष्ट्रप्रेम बढाउने किसिमका, चिनियाँ इतिहास, परम्परा र संस्कृतिका बारेमा जानकारी दिने प्रकृतिका विशेष सामग्रीहरूतर्फ आकर्षित गर्न एन्टी–एडिक्सन सिस्टम विकास गरिएको हो। चीनमा टिकटक एप्स डोउयिनका नामले प्रसिद्ध छ। डोउयिनमा नयाँ नियमको परीक्षण शुरु भइसकेको छ। त्यसका अतिरिक्त चीनमा आइक्यूयी र विइवो लोकप्रिय छन्। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*