मुख्यमन्त्री पौडेललाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

ए वान डेस्क
२१ जेष्ठ २०७६, मंगलवार १२:४५

प्रदेश ३ नम्बर का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ ।

उहाँको मुटुको शल्यक्रियापछि अहिले आईसीयूमा राखिएको प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो । अप्रेशन गरेर अस्पतालमा रहनुभएका मुख्यमन्त्रीलाई भेट्नका लागि आउनुभएका प्रधानमन्त्री ओलीले अप्रेशन सफल भएकाले आराम गर्नका लागि सुझाव दिनुभएको छ ।

उहाँको मुटुको सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको आइतबार एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

मंगलबार मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भेट गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपि जेठ २४ र २५ गते हेटौडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाइ छ । – उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*