संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

ए वान डेस्क
९ जेष्ठ २०७८, आईतवार १५:४६

संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्‍त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेता सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। बहुमत सांसदहरूले विघटन खारेज गरेर संसद् ब्यूँताउनका लागि अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्। आज दायर गर्ने भनिए पनि रिट तयारीका क्रममा रहेकाले भोली गर्ने जनाइएको छ।

प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा विद्यादेवी भण्डारी गत शुक्रबार मध्यरातमा संसद विघटन गरेकी थिइन। संसद्‌मा रहेका पाँच दलले संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिँदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेअनुसार सर्वोच्चमा गएका हुन्। संसद् भवन नयाँ बानेश्‍वरमा शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी,नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकले संसद विघटनविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलले संयुक्त वक्तव्य निकालेर राष्ट्रपति र प्रधानमन्‍त्री दुवैले संविधान मिचेर संसद्को हत्या गरेको बताएका थिए।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका दुवै दाबी खारेज गरेपछि मध्यरातमा संसद् विघटन गरेर चुनावको मिति घोषणा भएको थियो। विपक्षीहरूले राष्ट्रपति र प्रधानमन्‍त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्। विघटन गर्ने कदमको नागरिकस्तरबाट पनि यसको चर्को निन्दा र विरोध भएको छ।

मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्‍त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। सर्वोच्चको संवैधानिक इजलासमा करिब डेढ महिना बहस भएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*