अविश्वासको प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बुधवार बिहानको लागि बोलाएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
बैठक अगाडि मन्त्रिपरिषदको बैठक रहेको छ । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको चौधरीले बताए ।
चौधरीले दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने संकेत गरे ।
आज दिउसो प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदैछ । सरकार अफ्ट्यारोमा परेपछि जसपाका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष पाण्डेयले मंगलबार राति राजीनामा दिएका छन् ।
यससँगै पोखरेल नेतृत्वको सरकार संकटमा परेको छ ।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। विपक्षमा सभामुखसहित ४२ सांसद छन् ।
यो अवस्थामा एमालेले अविश्वासको प्रस्तावको सामना गरेमा प्रस्ताव पास हुने देखिन्छ । तर, एमालेले अविश्वासको प्रस्ताव दर्ता र सदनको विशेष अधिवेशन आह्वान संविधानविपरीत आएकाले सदन बहिस्कार गर्ने सम्भावना पनि छ ।























