जीतपुरसिमरा : जब मेयर पदभार ग्रहण गर्नुअघि सहिद सम्झिदै भावुक भए …
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा आज बिहानैदेखि निकै भिड देखिन्थ्यो । कारण थियो, नगर प्रमुख राजन पौडेलको पदभार ग्रहण र उप–प्रमुखसहित २४ वटै वडाका जनप्रतिनिधिको सपथ ग्रहण । नगर प्रमुख पौडेको पदभार ग्रहण कार्यक्रम बिहान ८ बजेका लागी तोकिएको थियो भने जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम दिउसो २ बजेका लागी तोकिएको थियो ।
निर्धारित कार्यक्रम अनुसार नगर प्रमुख पौडेलको पदभार ग्रहण कार्यक्रम औपचारिक रुपमा प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले शुरु गर्नुभयो । पोखरेलले सबैभन्दा पहिले सहिद परिवार देवका पाण्डेलाई आसन ग्रहण गराउनुभयो । त्यसपछि नगर प्रमुख पौडेललाई आसन ग्रहण गराउनुभएका पोखरेलले सहिद परिवारलाई सम्मानको निम्ति आग्रह गर्नुभयो ।
त्यसपछि नगर प्रमुख पौडेलले वडा नम्बर ३ बजनी निवासी देवका पाण्डेलाई टिका लगाएर सम्मान गर्दै बोल्न थाल्नुभयो । शुरुमा पछाडी राखिएको ब्यानरलाई हेर्दै नगर प्रमुख पौडेलले सहिदलाई सम्झनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका सहिदलाई सम्झिदै पौडेलले आफ्नो जेल जिवनको कथा सुनाउनुभयो । सो क्रममा उहा भावकु हुनुभएको थियो । ‘छोरो मर्यौ भनेर मेरो परिवारले मलाई बिर्सिनुभएको थियो, कामकाग गर्ने तयारी गर्नुभएको पनि मलाई थाहा छ, यस्तो अवस्थाबाट म आज यहा“सम्म आईपुगेको छु’ ।
पुराना दिन र सहिद परिवारलाई सम्झिदै पौडेल भावुक हुदा कोठाभित्रै बस्नुभएका पौडेलकी आमा पनि भावुक हुनुहुन्थ्यो । क्रमसः आफ्नो सम्बोधनको क्रममा जेल जिवदेखि राजनितिक यात्रासम्मको भोगाई प्रस्तुत गरेपछि पौडेलले आफ्नो केहि भावी योजना प्रस्तुत गर्नुभयो ।
त्यसपछि नगर प्रमुख पौडेललाई जीतपुरसिमरा उपमहानगरपालिका मजदुर मैत्री बनाउन माग गर्दै मजदुरको सुरक्षा ज्याकेट प्रदान गरिएको थियो । त्यसलाई सहज रुपमा स्विकार गर्दै पौडेलले सुरक्षा ज्याकेट लगाएर पदभार ग्रहण गर्नुभयो । पृष्ठभुमीमा सहिदको ब्यानर र मजदुरको सुरक्षा ज्याकेट लगाएर नगर प्रमुख पौडेलले सञ्चारकर्मीमाझ आफ्ना योजना प्रस्तुत गर्नुभयो ।























