बाराका इन्जिनियर मृत्यु प्रकरण: दुरुत्साहन मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी
बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ स्थित दहियारमा इन्जिनियर प्रभात जैसवालले विष सेवन गरेर आत्महत्या गरे । जेठ ९ मा आफ्नै घरमा मृत भेटिएका जैसवालको शवसँगै पर्समा सुसाइड नोट भेटियो ।
पर्साको बहुअर्वामा डिस्टिलरी कम्पनी सञ्चालन गरिरहेका इन्जिनियर जैसवालले नोटमा लेखेका छन् –‘मिटर ब्याज तिर्न नसकेपछि अप्रिय निर्णय लिएँ ।’ मृतकले ८ जना मिटरब्याजीको नाम पनि सो नोटमा लेखेका छन् ।
मिटरब्याजीहरुको विरुद्ध परिवारले आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् । तर, जिल्ला प्रहरी कार्यालय बाराले सो जाहेरी दर्ता गर्न आनाकानी गरेको पीडित परिवारको आरोप छ । घटनापछि जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा शाखाका इन्स्पेक्टर सुरेन्द्र यादव र जाहेरीमा नाम भएका मिटरब्याजीहरुको उठबस बढेको बारामा कार्यरत एकजना प्रहरी अधिकृतले बताए ।
लामो समय बाराको मनर्वामा रहेको रियालन्स चिनी मिल काम गरेका इन्जिनियर जैसवालले पछिल्लो समय डिस्टिलरी उद्योग सुरु गरेका हुन् । बारामा एसपी दिलीप सिंह देउवाले दुरुत्साहन मुद्दा दर्ता गर्ने प्रक्रिया भएको बताउँदै भने–‘मृतकका आफन्तलाई सम्झाएर पठाएका छौँ, चिठी र मृतकको हस्ताक्षर परीक्षणको लागी विधि विज्ञान प्रयोगशालामा पठाएका छौँ ।’ विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर म्याच भएर आएमा मात्र मुद्दा दर्ता गरिने एसपी देउवाले बताए । प्रभातको शव पोस्टमार्टम पछि परिवारले दाहसंस्कार गरेका छन् ।























