जीतपुरसिमराको नगरसभा : माईक खोस्नेदेखि तनावको स्थितिसम्म, के के भयो दिनभर ?
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको घोषणा गर्नुभएको हो ।
उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित बकुलिया स्कुलमा नगरसभाको आयोजना गरेपनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा गर्न दिएका थिएनन् । नगरसभा अघि कार्यपालिकाबाट वडाको बजेट तर्जुमा गर्नुपर्ने भन्दै आक्रोशित जनप्रतिनिधिहरुले नगरसभा गर्न नदिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले कार्यक्रम शुरु गर्न खोजपनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले माईक खोसेपछि कार्यक्रमस्थलमा केहिबेर तनावको स्थिति सिर्जना भएको थियो । नगर प्रमुख राजन पौडेलले विधि र प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई नगरसभा शुरु गर्न भनेपनि लगातारको होहल्ला र असहज परिस्थितिका कारण नगरसभा समयमै शुरु हुन सकेको थिएन् ।
नगरसभा बिहान ११ बजेका लागी बोलाईएको थियो । निर्धारित समय भन्दा झण्डै २ घण्टापछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु कार्यक्रम स्थल पुगेका थिए । उप–प्रमुख भोला प्रसाद अधिकारीसहितका जनप्रतिनिधिहरु कार्यक्रम स्थल पुग्नासाथ होहल्ला गर्न शुरु गरेका थिए । झण्डै २ घण्टा होहल्ला भएपछि नगर प्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको घोषणा गर्नुभएको थियो । संवैधानिक व्यवस्था अनुसार सबै स्थानीय तहले असार १० गतेभित्र नगरसभा गरिसक्नुपर्नेछ ।
नगर प्रमुख राजन पौडेलले केहि कार्यपालिका सदस्यका कारण नगरसभा हुन नसकेको बताउनुभएको छ । नगरसभा स्थगित भएपछि सञ्चारकर्मीसंग कुरागर्दै नगर प्रमुख पौडेलले केहि कार्यपालिका सदस्यको अराजक शैलीका कारण नगरसभा स्थगित गरिएको बताउनुभयो ।
कार्यपालिका बैठकमा पनि कार्यपालिका सदस्यहरु मर्यादित नभएको भन्दै उहाले नगरसभाको पनि अराजकता प्रस्तुत गरेको बताउनुभयो । उहाले आजको बैठकमा कर्मचारीलाई पनि नराम्रो व्यवहार गरेको बताउनुभयो । उहाले अबको कार्यपालिकाको बैठक पनि प्रत्यक्ष प्रशारण गरिने पनि बताउनुभएको छ ।
सञ्चारकर्मीसंग कुरागर्दै उप प्रमुख भोला प्रसाद अधिकारीले पुर्व तयारी नभएका कारण नगरसभा स्थगित भएको बताउनुभयो । कार्यपालिकाबाट बजेट तर्जुमा गरेर नगरसभा गरिनुपर्ने भएपनि त्यसो नभएको बताउनुभयो ।























