गणपुरक संख्या नपुगेपछि जीतपुरसिमराको कार्यपालिका बैठक स्थगित
ए वान डेस्क /
गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । आठौ नगरसभाको पुर्व सध्यामा आज बोलाईएको कार्यपालिका बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
कार्यपालिकाको बैठकमा ५० प्रतिशत भन्दा बढि सदस्य उपस्थित हुनुपर्ने भएपनि सो संख्या उपस्थिति नभएपछि कार्यपालिकाको १९औ बैठक स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यसम्पादन नियमावली, २०७५ को नियम १० को उपनियम ५ अनुसार बैठक गणपुरक संख्या ५० भन्दा बढि सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।
तर आजको बैठकमा सो सदस्य संख्या उपस्थित नभएपछि कार्यपालिकाको बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।
पुरीले अर्को बैठक भोलिको लागी राखिएको बताउनुभयो । अर्को बैठक भोलि दिउसो १ बजेका लागी बोलाईएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले निति तथा कार्यक्रममाथि छलफल गर्न बोलाईएको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको बताउनुभयो ।
आजको बैठकमा आर्थिक बर्ष २०८०÷०८१ का लागी निति तथा कार्यक्रमबारे छलफल गर्ने, स्थानिय जातिय बिभेद तथा छुवाछुत समिति चयन गर्ने, नेरामावि सिमराको कार्यक्रम तथा बजेट स्विकृत गर्ने र आन्तरीक आय ठेक्काको बक्यौता रकम असुल गर्ने एजेण्डा थियो ।























