प्रधानमन्त्री प्रचण्ड आज बझाङ जाँदै

ए वान डेस्क
१९ आश्विन २०८०, शुक्रबार ०८:१३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम छ ।

उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।

बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । घर बाँकी भएकाहरु भने विस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*