कांग्रेस महासमिति बैठक आज पनि, के छन् एजेन्डा ?
सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक बुधबार पनि जारी रहने छ। आजको बैठकमा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल सुरु हुने तयारी छ।
ललितपुरको गोदावरीमा सोमबार सुरु भएको बैठकमा हिजो उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत पाँच जनाले विभिन्न पाँच प्रतिवेदन पेस गरेका छन्।
हिजोको बैठकमा उपसभापति खड्काले नीति, महामन्त्रीद्वय थापा र शर्माले क्रमशः सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
यस्तै, प्रवक्ता महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए।
आज ती प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार पहिलो समूहमा कर्णाली र मधेश प्रदेश, दोस्रो समूहमा कोशी र सुदूरपश्चिम, तेस्रो समूहमा बागमती र गण्डकी तथा चौँथो समूहमा भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समिति रहने छन्। प्रत्येक समूहमा ८० जनाले छलफलमा धारणा राख्नेछन्।























