मधेशमा गठबन्धनभित्र असन्तुष्टि चुलिँदै

ए वान डेस्क
१६ फाल्गुन २०८०, बुधबार ०९:३८

५ दल सरकारमा रहेको र केही साना दलको समर्थनमा बनेको मधेश प्रदेश सरकारमा गठबन्धनभित्रै तीव्र असन्तुष्टि देखिएको छ । दलहरूबीचको मिलाउन संघीय सत्ता गठबन्धनको दबाबपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैंले अग्रसरता लिए पनि असन्तुष्टि झन् चुलिएको छ ।

मधेशमा गठबन्धनभित्र असन्तुष्टि चुलिँदै
मन्त्रालय बाँडफाँड नमिलेको, मन्त्रालयलाई टुक्र्याएर कमजोर पारिएको र मुख्यमन्त्री सरोजकुमार यादव आफूखुसी हिँडेको भन्दै सत्ता गठबन्धन दलचित्र असन्तुष्टि छ । मधेश प्रदेशका जसपा नेतृत्वमा कांग्रेस, माओवादी(केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा(एस) सम्मिलित सरकार छ । मधेश प्रदेश सरकारलाई साना दल राप्रपा, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन छ ।

कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा झडपै भएपछि सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर समर्थनसमेत फिर्ता लिएको थियो । मधेश प्रदेश सरकारमा गठबन्धनबीच समस्या देखिएपछि जसपाका अध्यक्ष यादवले मंगलबार साँझ दलका नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा बोलाइएको गठबन्धन दलको बैठकमा नेता यादवले जनमत पार्टी सरकारबाट बाहिरिएपछि खाली रहेको दुई शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय बाँडफाँड गर्न अफर गरेका थिए ।

गठबन्धन दलको असन्तुष्टि नसुनी जसपा अध्यक्ष थोरै समयमा बैठकबाट बाहिरिएका थिए । उनी काठमाडौं फर्किनुपर्ने भएकाले बैठकमा समय दिन नसकेको जसपाका एक मन्त्रीले बताए ।

‘गठबन्धनभित्र ठीकठाक छैन । समस्या छ । तर, त्यसको सुनुवाईहुन सकेको छैन,’ लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले भने,‘मन्त्रालय मिलेको छैन । मन्त्रालयहरूलाई टुक्र्याएर कमजोर पारिएको छ । गठबन्धन दलको बैठक बोलाइँदैन ।’ महतोका अनुसार जसपा अध्यक्ष यादवले गठबन्धनको बैठक बोलाए पनि चिया–कफी खाएर आफूहरू बाहिरिएको बताए ।

‘गठबन्धनभित्रको समस्या सम्बोधन होला भनेर हामी गएका थियौं,’ उनले भने,‘उपेन्द्रजी थोरै समयमा बाहिरिनु भयो । हामी पनि चिया–कफी खाएर निस्कियौं । खासै कुराकानी भएन ।’ माओवादी(केन्द्र)का संसदीय दलका नेता भरतप्रसाद साहले गठबन्धन दलको बैठक बोलाए पनि आफूहरूको गुनासो नसुनेको बताए । ‘हाम्रा केही गुनासा छन् । मुख्यमन्त्रीको कामगराइप्रति असन्तुष्टि छ,’ उनले भने,‘यी सबै कुरा सुन्न जसपा नेतृत्व तयार देखिएन । अनि हामी बैठकबाट बाहिरियौं ।’

मधेश प्रदेश सरकारमा गठबन्धनभित्र यतिबिघ्न असन्तुष्टि छ कि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुअघि माओवादी(केन्द्र), लोसपा र एमालेका सांसदहरु भारत, विहारको सुरसन्ड पुगेका थिए । मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अडानमा भारत पुगेका सांसदहरूलाई भने दलको केन्द्रीय नेतृत्वको दबाबमा जनकपुर फर्काइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*