जीतपुरसिमरा महोत्सवमा दर्शकको लोभलाग्दो भिड, ३० हजारले गरे अवलोकन

ए वान डेस्क /
जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा जारी प्रथम जीतपुरसिमरा एक्सपो २०२४ तथा जीतपुरसिमरा महोत्सव २०८० मा अहिलेसम्म ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । अयाोजक जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अनुसार महोत्सवको नवौ दिनसम्म ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।
कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव फागुन १८ गतेदेखि शुरु भएको थियो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष गजेन्द्र कुमार गुप्ताले महोत्सव सफल रुपमा सञ्चालन भईरहेको बताउनुभयो ।
हालसम्म ३० हजार दर्शकले महोत्सव अवलोकन गरेको भन्दै उपाध्यक्ष गुप्ताले महोत्सवमा दर्शकको उत्साहपुर्ण उपस्थिति रहेको बताउनुभयो । ‘अहिलेसम्म ३० हजार दर्शकले मेला हेरिसक्नुभयो, दर्शकको उपस्थिति निकै राम्रो छ’ उहाले भन्नुभयो ।
महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाउदै आएका छन् । बिभिन्न समुदायका खानाका स्टलहरु, बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको स्टल, मनोरञ्जनात्मक बाल उद्यान, सेल्फी जोन महोत्सवको मुख्य आर्कषण रहेको छ ।
खस्किदै गरेको पर्यटन व्यवसायलाई उकास्ने उदेश्यका साथ आयोजना गरिएको महोत्सव फागुन ३० गतेसम्म चल्नेछ ।