सरकारको न्यूनतम साझा कार्यक्रम तयार, शीर्ष नेतालाई हस्तान्तरण गर्ने कार्यदलको तयारी
सुशासनलाई प्राथमिकता दिँदै कार्यदलले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको छ । शुक्रबार बसेको कार्यदल बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको हो । शीर्ष नेताहरूको समय उपलब्ध भएपछि प्रतिवेदन बुझाउने तयारी भएको नेताहरुले बताएका छन् ।
शीर्ष नेताहरुको समय व्यवस्थापनको जिम्मा बैठकले नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई दिएको कार्यदल सदस्यसमेत रहेका जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
सुशासनलाई प्राथमिकता दिँदै कृषि, स्वास्थ्यसहित जनताको निराशा अन्त्य गर्नको लागि सामूहिक सानो प्रतिबद्धता जनाउन लागेको सुमनले बताए । मस्यौदा हस्तान्तर भएपछि शीर्ष तहमा छलफलपछि सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।























