मधेस प्रदेश सरकारको नेतृत्वका लागि सीके राउतले गरे ‘पोलिटिकल स्टन्ट’

ए वान डेस्क
१८ जेष्ठ २०८१, शुक्रबार १५:००

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत लिने समय नजिकिँदै गर्दा ‘पोलिटिकल स्टन्ट’ सुरु गरिएको छ । मधेसको सत्ता पक्षले आफ्नो सरकार बचाउन कसरत गरिरहेको समयमा विपक्षी दलहरू भने सरकार निर्माणका लागि विभिन्न ‘स्टन्टबाजी’ गरिरहेका छन् ।

केन्द्रीय सत्ता समीकरणबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दलको अगुवाइमा बसेको बैठकमा सहभागिता जनाएसँगै मधेस प्रदेश सरकारको सवालमा दाउपेच बढ्दै गएको छ ।
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले बिहीबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा विज्ञप्ति सार्वजनिक गरे । जसमा मधेस प्रदेशमा ५ दल मिलेर सरकार गठन गर्ने सहमति भएको उल्लेख थियो ।

विज्ञप्तिमा लेखिएको छ, ‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनीतिक परिस्थितिमा प्रदेशमा रहेका भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि एमाले, माओवादी केन्द्र, जनमत, लोसपा र एकीकृत समाजवादी दलको सहभागितामा नयाँ संयुक्त मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’

विज्ञप्तिमा ५ दलको नाम लेखिए पनि हस्ताक्षर भने एमाले, माओवादी र जनमत पार्टीका नेताको मात्रै छ । तीन दलको मात्र हस्तक्षर भए पनि ५ दलको सहमतिमा नयाँ संयुक्त सरकार गठन गर्ने भनेर प्रचार गरियो ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले बिहीबार कुनै पनि दलसँग छलफल नगरेको बताए । उनका अनुसार मधेस प्रदेश सरकार गठनबारे कुनै दलसँग बैठक वा छलफल पनि भएको छैन ।

यता एकीकृत समाजवादीका पार्टीकी नेतृ तथा मधेस प्रदेश सरकारमै सहभागी बेची लुङ्गेलीले पनि आफ्नो दलले नयाँ सरकार गठनबारे कुनै पनि सम्झौता नगरेको बताइन् । उनले भनिन्, ‘बिहीबार कुनै पनि बैठकमा हामी सहभागी भएका छैनौँ, न त हाम्रो पार्टीमा नयाँ सरकारबारे अन्य दलसँग छलफल भएको कुरा आएको छ । हाम्रो दलको नाम विनासहमति त्यतिकै लेखिएको छ, जुन ठिक होइन ।’
केन्द्रको सरकारबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिएसँगै मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्र पनि संयुक्त रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएका थिए । त्यसपछि जसपा नेपाल र एमाले–माओवादी बिच मधेस सरकारका बारेमा प्रतिस्पर्धा बढेको छ । दुवै पक्ष आफ्नो नेतृत्वमा मधेस सरकार बनाउन कसरत गर्दै आएका छन् ।

केन्द्रमा प्रमुख विपक्षी रहेको नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूबिचको बैठकमा माधवकुमार नेपालको ‘इन्ट्री’ भएपछि मधेस सरकारका बारेमा प्रतिस्पर्धा थप रोचक मोडमा पुगेको छ । माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादी अहिले पनि जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारमा छ ।

त्यसपछि केन्द्रको सत्ता गठबन्धनले लोसपालाई भित्र्याएर मधेस प्रदेशमा सरकार गठनका लागि प्रयास थालेका छन् । यस क्रममा उनीहरूले जनमतलाई सरकारको नेतृत्व दिने र आफ्नो गठबन्धनमा लोसपा पनि सामेल हुने प्रचारवाजी गरेको हुन सक्ने लोसपाकै एक प्रदेशसभा सदस्यले बताए ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले यसपटक ४ दललाई समेटेर आफ्नो नेतृत्वको सरकार जोगाउने रणनीति बनाएका छन् ।

स्रोतका अनुसार जसपा नेपालसहित कांग्रेस, लोसपा, एकीकृत समाजवादीलाई समेटेर मुख्यमन्त्री यादवले यसपटक विश्वासको मत लिने तयारी गरेका छन् । यी चार दलले मुख्यमन्त्री यादवलाई समर्थन गरे उनले सहजै विश्वासको मत पाउन सक्छन् । प्रदेश सभामा जसपाका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*