गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबारदेखि ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागु भएको छ ।
भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।
विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो ।
हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय मिटर भिजिबिलिटी भए जहाज उडान र अवतरण गर्न सक्नेछन् ।
भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए । नेपाल एयरलाइन्सले भने काठमाडौं– भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ ।
आरएनपी–एआर प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ ।
यो प्रणालीले भिजिबिलिटीका कारण उडान र अवतरणमा आइरहने अवरोध हटाउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
उनका अनुसार ४२ दिने सूचना प्रकाशन अवधि पूरा भएकाले आजदेखि भूउपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधि औपचारिक रूपमा लागु भएको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका तर्फबाट ‘आरएनपी–एआर’ प्रणाली लागु भए पनि अब विदेशी वायुसेवाहरूले आफ्नो देशको विभागीय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरेपछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुनेछ ।
आरएनपी–एआर प्रणाली लागु भए पनि विदेशी वायुसेवाका जहाजले उडान र अवतरण गर्न भने समय लाग्ने तिवारीले बताए ।
यो विधि लागु गर्न विदेशी वायुसेवा कम्पनीहरूले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि पाइलटहरूलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रक्रिया पूरा गर्न समय लाग्ने तिवारीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले १ हजार १ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्धमा ९ सय मिटर भिजिबिलिटीमा काम गर्ने उनले जानकारी दिए ।
भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट उडान गर्ने छ ।
फ्लाई दुबईले १३ जनवरीबाट उडान सुरु गरेको छ । कतार एयरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन ।
महाप्रबन्धक तिवारीका अनुसार हालसम्म फ्लाई दुबईले आरएनपी–एआर एप्रोच प्रणाली लागु गर्न चासो र रुचि देखाएको छ भने जजिराका केही जहाजमा यो प्रणाली जडान छ । जजिराले ‘लो भिजिबिलिटी’ मा गौतमबुद्ध विमानस्थलमा टेस्ट फ्लाइट गरेर सफल भए निरन्तरता दिन सक्ने तिवारीले बताए ।
























