जीतपुरसिमरा : मेयरको निर्देशनपछि शिक्षकको खातामा सिधै तलब, शिक्षकहरुमा उत्साह
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गरेको छ ।
यसअघि मासिक रुपमा विद्यालयको खातामा तलब निकासा गर्दै आएको उपमहानगरले फागुनदेखि शिक्षककै खातामा सिधै तलब निकासा हुने व्यवस्था मिलाएको छ ।
उपमहानगरपालिकाका शिक्षा अधिकृत खुलप्रसाद गौतमका अनुसार सोमबार सबै शिक्षकको माघ महिनाको तलब ब्यक्तिगत खातामा निकासा भइसकेको छ । शिक्षकहरुको खातामा तलब पठाउन नगर प्रमुख राजन पौडेलले शिक्षा महाशाखा प्रमुख शिवजी साहलाई निर्देशन दिएका थिए ।
यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो । विद्यालयको खातामा उपमहानगरपालिकाले पठाएको पैसा फेरि शिक्षकको खातामा पठाउन प्रधानाध्यापकहरुले एकसातासम्म लगाउने गरेका थिए ।
व्यक्तिगत खातामा सिधै रकम आउने भएपछि जीतपुरसिमराभित्रका शिक्षकहरु उत्साहित भएका छन् ।
























