कुलमान घिसिङको स्पष्टीकरण : आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई छैन

ए वान डेस्क
१५ फाल्गुन २०८१, बिहीबार १४:१८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने र स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको स्पष्टीकरण दिएका छन् ।

मन्त्रालयले पदबाट किन नहटाउने भन्दै गएको मङ्गलवार सोधेको २४ घण्टे स्पष्टीकरणमा जवाफ दिँदै घिसिङले विद्युत् प्राधिकरण ऐनअनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको तर्क गरेका हुन।

ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मानमर्दन गरी हतोत्साही बनाएको उनको आरोप छ ।

मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा अति गौण र साना विषय उठान गरी पटक पटक स्पष्टीकरण मागेर असजिलो पारेको घिसिङले स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् ।

उनले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन भन्दै प्रश्नसमेत गरे ।

स्पष्टीकरण पत्रमा यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोत साधन र समयको अवमूल्यन भइरहेको जिकिर छ ।

कार्यकारी निर्देशक घिसिङले प्रतिकूलता, असहयोग र अवरोधका बाबजुद आफूले नेपाल सरकारले दिएको जिम्मेवारी कानून अनुसार पूरा गरिरहेको दाबी समेत गरेका छन् ।

आफूमाथि लगाइएका आरोप मनोगत भएको उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*