आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहियो : प्रचण्ड

ए वान डेस्क
१८ फाल्गुन २०८१, आईतवार १२:४१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् ।

आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै उनले आगामी दिनमा नियमित रुपमा जनतासँग रहने बताए ।

जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको उनले बताए । सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको पनि उनले बताए ।

आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको उनले बताए ।

आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको उनले बताए ।
प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताए ।

मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*