वीरगन्ज नाकाबाट सात महिनामा करिब १७ अर्बको औषधि आयात

ए वान डेस्क
१८ फाल्गुन २०८१, आईतवार १३:५४

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा करिब १७ अर्ब रुपैयाँको एलोपेथिक औषधि आयात भएको छ । गत साउनदेखि माघसम्म सात महिनाको अवधिमा वीरगन्ज नाका हुदैं भारत तथा तेस्रो मुलुकबाट १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि आयात भएको हो ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको थियो । तुलनात्मक रुपमा गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको एलोपेथिक औषधि आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतमले स्वदेशी औषधिले देशको कूल औषधि बजारको झन्डै ६० प्रतिशत हिस्सा ओगटे पनि अझै ४० प्रतिशत बजार विदेशी औषधिकै रहेको बताए ।
यसको प्रमुख कारण कतिपय औषधि अझै पनि स्वदेशी औषधि उद्योगहरूले उत्पादन गर्न नसक्नु नै रहेको गौतमको भनाई छ ।
नेपालमा हाल १ सय १३ वटा एलोपेथिक औषधि उत्पादक उद्योग सञ्चालनमा रहेका छन् ।
तैपनि कतिपय औषधि यी उद्योगले उत्पादन गर्न सकेका छैनन् ।
नेपालमा सर्वाधिक भारतबाट औषधि आयात हुन्छ । भारतपछि बंगलादेश, सिंगापुर आदि देशबाट औषधि आयात हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*