चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी

ए वान डेस्क
२२ फाल्गुन २०८१, बिहीबार १५:०९

सरकारले चालक अनुमतिपत्र अर्थात् ‘ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो ।
यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ ।

अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो ।

किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि उमेर बढाउन प्रस्ताव गरेको उहाँको भनाइ छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउनदेखि फागुन १९ गतेसम्म ६ हजार ८ सय ३४ जना चालकबाट गाडी दुर्घटना भएकामा झन्डै एक तिहाइ अर्थात् २ हजार २ सय जना चालकको उमेर १६ देखि २५ वर्ष छ ।

सबैभन्दा कम दुर्घटना ४१ वर्षभन्दा बढी उमेरका चालकबाट भएको पाइन्छ ।

सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला गाडी चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

यस्तै मन्त्रालयले कम्तीमा कक्षा ८ उत्तीर्ण भएकालाई मात्रै चालक अनुमतिपत्र दिने प्रस्ताव पनि गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुई पाङ्ग्रे गाडीको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम पनि प्रस्ताव गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*