नेपाल प्रहरीमा ६ एआईजी पद रिक्त, बढुवाका लागि तीव्र प्रतिस्पर्धा
नेपाल प्रहरीमा आठ अतिरिक्त महानिरीक्षक (एआईजी) पदमध्ये हाल ६ पद रिक्त भएको छ।
सोमबारदेखि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित पाँच एआईजीहरू अवकाशमा गएपछि रिक्तता बढेको हो।
कुँवरको अवकाशसँगै एआईजी दीपक थापा आईजीपीमा नियुक्त भएपछि संगठनमा एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ मात्र कार्यरत छन्।
यस्तो अवस्थामा, सरकारले रिक्त पदहरू पूर्ति गर्न एआईजी बढुवाको तयारी थालेको छ।
बढुवाका लागि तीन ब्याचका नायब महानिरीक्षक (डिआईजी)हरू प्रतिस्पर्धामा छन्। सबैभन्दा सिनियर चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, र कृष्णहरि शर्मा पोखरेल छन्।
उनीहरू २०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत छन् । आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।
त्यसपछि २०५४ सालको ब्याचका डिआईजीहरू दानबहादुर कार्की, मनोज केसी, र राजन अधिकारी प्रतिस्पर्धामा छन् । उनीहरू डिआईजी बढुवामा सिनियर भए पनि प्रहरी निरीक्षक भर्नाका क्रममा २०५३ को टोली अगाडि भएकाले उनीहरूको बढुवा अन्योलमा छ।
यसैगरी, २०५३ सालको ब्याचका हिमालय श्रेष्ठ, डम्बरबहादुर विक, र २०५४ सालकै दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट, र गोविन्द थपलिया पनि एआईजी बढुवाका लागि दौडमा छन्।
बढुवामा समेटिनका लागि केही डिआईजीहरू विभिन्न राजनीतिक दलका नेताहरूको शरणमा पुगेको स्रोतहरू बताउँछन्। केही प्रतिस्पर्धी भने सिनियरिटी र कार्यकुशलताका आधारमा न्यायोचित बढुवाको पक्षमा छन्।
भावी नेतृत्वको संकेत गर्नेछ यो बढुवा
यस पटकको एआईजी बढुवाले नेपाल प्रहरीको भावी नेतृत्वसमेत संकेत गर्नेछ। यदि संसद्मा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ भित्र पारित भएन भने हालका प्रतिस्पर्धीहरूमध्ये एक जनाले प्रहरी महानिरीक्षक (आईजीपी) का रूपमा पनि अवसर पाउने सम्भावना रहेको छ।
सरकारले बढुवाको प्रक्रिया छिट्टै अघि बढाउने तयारी गरेको बताइएको छ। अब को-को प्रहरी संगठनको उच्च पदमा पुग्ने हुन् भन्ने टुंगो चाँडै लाग्नेछ।
























