पर्सामा एसइई परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने निरीक्षक र केन्द्राध्यक्षसहित चार जनामाथि कारबाही

ए वान डेस्क
९ चैत्र २०८१, आईतवार १५:४९

पर्सामा जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निरीक्षक तथा केन्द्राध्यक्षसहित चार जनामाथि कारबाही गरेको छ ।

परीक्षाको दोस्रो दिनमै परीक्षा मर्यादा विपरीत कार्य भएको निष्कर्षसहित एक केन्द्राध्यक्ष र तीन निरीक्षकलाई कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार माई स्थान विद्यापीठका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई हटाउने निर्णय गरिएको छ । उनलाई आजदेखि परीक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाइएको छ ।

त्यस्तै, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ मावि चिनी कारखानाका निरीक्षक धर्मेन्द्र यादव र रामबालक यादवलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

शनिवार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले प्रहरीलाई कडा निगरानी गर्न निर्देशन दिँदै परीक्षा मर्यादा उल्लङ्घन गर्ने चार जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।

परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न प्रशासनले द्वारदेवी माध्यमिक विद्यालय अलौंमा अनावश्यक भिडभाड हटाउने निर्देशन दिएको छ भने सबै परीक्षा केन्द्रहरूमा कडा चेकजाँच र सुरक्षाकर्मीको सङ्ख्यामा वृद्धि गर्न पनि निर्देशन दिएको छ । त्यस्तै परीक्षा सञ्चालनको समयभन्दा २० मिनेटअघि मात्र प्रश्न पत्र खोल्ने व्यवस्था गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै, सुन्दरमल रामकुमार कन्या मावि परीक्षा केन्द्रमा नियमित विद्यार्थीलाई ग्रेड वृद्धिको र ग्रेड वृद्धि तर्फका विद्यार्थीलाई नियमितको प्रश्न पत्र दिएको त्रुटिलाई सुधार गर्न चेतावनी दिइएको छ ।

पर्सा जिल्लामा यस वर्ष ९ हजार ८ सय २ विद्यार्थीहरू एसइई परीक्षामा सहभागी भएका छन् । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउन जिल्ला प्रशासन कार्यालयले थप निगरानी बढाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*