हिमालयन शेर्पालाई १३ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि

ए वान डेस्क
३० चैत्र २०८१, आईतवार २१:२६

हिमालयन शेर्पा क्लबले १३ वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा मछिन्द्र फूटबल क्लबलाई ४–१ पराजित गर्दै शेर्पाले उपाधि उचालेको हो ।

शेर्पालाई उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई गाले गरे भने रोवर्ट खोङजो र समीरराज थोकरले एक÷एक गोल गरे । मछिन्द्रका लागि रञ्जन पुनले एक गोल फर्काए ।

१३ वर्षपछि पुनः एकपटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको शेर्पाले १० लाख हात पारेको छ । लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझाउन बाध्य मछिन्द्रले पाँच लाख पाएको छ ।

शेर्पाले यसअघि २०६७ सालमा दोस्रो संस्करणको उपाधि जितेको थियो । लगातार फाइनलमा प्रवेश गरेको मछिन्द्र गत वर्ष पनि नेपाल पुलिस क्लबसंग पराजित हुँदै उपविजेता भएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शेर्पाका रोवर्ट खोङजो घोषित भए । शेर्पाबाट खेलेका भारत मेघालयका खोङजोले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । भिएक्सल एजुकेशनले उक्त स्कुटर प्रायोजन गरेको थियो ।

विधागततर्फ सर्वाधिक गोलकर्ताको उपाधि पनि खोङजोले पाए । उनले तीन गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक शेर्पाका विवश चौधरी, उत्कृष्ट प्रशिक्षक शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । विधागततर्फका उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*