सिम्रौनगढमा आन्तरिक झैझगडा चर्कियो, करार कर्मचारीले पारे सेवा ठप्प

ए वान डेस्क
१९ बैशाख २०८२, शुक्रबार १२:४८

सिम्रौनगढ नगरपालिकामा कार्यरत करार कर्मचारीहरू कार्यालयमा उत्पन्न ‘असहज र अमानवीय वातावरण’ विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

करार कर्मचारी संघ सिम्रौनगढ नगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाहमा अवरोध पुर्‍याउने गरी सामूहिक बैठक आह्वान गरेको छ।

विवादको केन्द्रमा नगर प्रमुख र कार्यालय शाखा प्रमुखबीचको द्वन्द्व रहेको छ।

विज्ञप्तिअनुसार, कार्यस्थलमा बारम्बार हुने मानसिक, मौखिक तथा शारीरिक दवावका कारण कर्मचारीहरूले मनोबल गुमाइरहेका छन्।

संघका अध्यक्ष नितेश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएअनुसार, फागुन २९ गते नगर प्रमुखका निर्देशनमा योजना शाखा प्रमुख नन्दकिशोर साहमाथि सार्वजनिक रूपमै अभद्र व्यवहार गरिएको थियो।

साथै, गत बैशाख १६ गते कार्यालय प्रमुख किरण प्रसाद कण्डेलमाथि नगर प्रमुखले सार्वजनिक रूपमा ‘गुण्डागर्दी शैलीमा’ व्यवहार गर्दै कुटपिट गर्न खोजेको आरोप लगाइएको छ।

“यसरी कार्यसम्पादन गर्न असहज बनाइएका कारण हामी करार कर्मचारीहरू आज सामूहिक बैठकमा बस्नेछौं,” विज्ञप्तिमा भनिएको छ।

करार कर्मचारीहरूको यो कदमले नगरपालिकाको दैनिक सेवा प्रभावमा पर्ने देखिएको छ।

सेवा प्रवाहमा असन्तुष्टि राख्दै आन्दोलनको चेतावनी दिएपछि स्थानीयवासीहरू पनि चिन्तित देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*